काठमाडौँ, माघ २० गते । न्यायपरिषद्को सदस्यमा संसदीय सुनुवाई समितिले प्रस्तावित दामोदर खड्काको नाम अनुमोदन गरेको छ । आज आइतबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले खड्काको नाम अनुमोदन गरेको हो ।

बैठकले न्यायपरिषद्को सदस्यमा सिफारिस खड्काले पेस गरेको अनुभव तथा कार्ययोजना सुनेपछि अनुमोदन गर्ने निर्णय गरेको हो । संसदीय सुनुवाई समिति सभापति ईश्वरीदेवी न्यौपानेले न्यायपरिषद्को पुस २९ को पत्रअनुसार सदस्य पदमा सिफारिस हुनुभएका दामोदर खड्काको नाम सङ्घीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम सर्वसम्मतिले अनुमोदन भएको बताउनुभयो ।


समितिको बैठकमा आफ्नो कार्य विवरण प्रस्तुत गर्दै न्यायपरिषद् सदस्यमा सिफारिस हुनुभएका खड्काले समाजका सबै अवयवहरुले राम्रो कुरालाई अघि ल्याउनुपर्ने बताउँदै छिटो छरितो न्याय सम्पादनका लागि न्याय परिषद्को तर्फबाट पहल र सहजीकरण गर्ने जानकारी गराउनुभयो ।