फाइल तस्वीर
सुर्खेत, माघ २० गते ।
विद्यालय जाने उमेरका बालबालिका अभिभावकको पछि लागेर भारतको मुग्लान जानु यहाँका लागि नौलो होइन । दैलेख गुराँस गाउँपालिका–२ मा यो चलन लामो समयदेखि चलिरहेको छ । जसले गर्दा बालबालिका विद्यालय शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्था छ ।

“गाउँमै बसेर छोराछोरी पढाउने रहर नभएको होइन, तर कमाइका लागि भारत जानु हाम्रा लागि बाध्यता भयो, केटाकेटीलाई यहाँ एक्लै छाड्न सकिन्न”, स्थानीय दलबहादुर विकले भन्नुभयो । रोजीरोटीका लागि मुग्लान जानुको विकल्प नभएको उहाँको भनाइ छ । 

विकका अनुसार गाउँका अधिकांश व्यक्ति रोजगारीका लागि भारतमै आश्रित छन् । दलित समुदायको बाहुल्यता रहेको यस वडाका मानिसहरु भारत जाँदा सपरिवार जाने चलन छ । भारतमा जसले जे काम पायो त्यही गर्ने र केही कमाइ गरेर नेपाल फर्कने उनीहरुको चलन पनि हो ।

जागिरको खोजीमा अधिकांश मानिस भारत जाँदा बालबालिका पनि सँगै लैजाने चलन रहेको वडा नं २ का सदस्य रामशिला विक  बताउनुहुन्छ । “यो दलित समुदायको बाहुल्यता भएको वडा हो, रोजगारीका लागि भारतमा जाने प्रचलन यहाँका लागि पुरानो हो, यहाँ गरिबीको अवस्था धेरै छ, त्यसमा पनि दलित समुदायको अवस्था दयनीय छ, उनीहरुले छोराछोरीलाई पनि सँगै लैजाने भएकाले पढ्न पाउँदैनन”, उहाँले भन्नुभयो । यस विषयमा आफूले वडादेखि गाउँपालिकालाई समेत ध्यानाकर्षण गराइरहेको भए पनि समस्या समाधान हुन नसकेको उहाँले बताउनुभयो । 

विद्यालय उमेर समूहका बालबालिका अविभावकको साथमा भारतमै जाँदा बालबालिकाको शिक्षा पाउने अधिकारसमेत वञ्चित भएको भन्दै शिक्षा क्षेत्रका सरोकारवालाहरुले पनि चिन्ता व्यक्त गरेका छन् । वडामा सञ्चालित भैरव प्राथमिक विद्यालय लमचुडीका प्रधानाध्यापक महेन्द्र रामजालीले अन्य वडाको तुलनामा वडा नं २ शिक्षाको अवस्था राम्रो नरहेको बताउनुहुन्छ । साथै महादेव माध्यामिक विद्यालयका प्रधानाध्यापक रेशम भट्टराई पनि भारत जाने चलनका कारण विद्यार्थीले पढ्न नपाएको बताउनुहुन्छ । “जबसम्म सरकारले गाउँमै रोजगारी गर्ने खालका कार्यक्रम ल्याउँदैन, तबसम्म सबै बालबालिकालाई विद्यालयमा ल्याउन गाह्रो छ”, उहाँले भन्नुभयो । 

भैरव प्रावि रानिवनका प्रधानाध्यापक नन्दा शाहीले पनि आफूहरुले बालबालिकालाई नियमित विद्यालय आउन जनचेतनाका कार्यक्रम सञ्चालन गरे पनि अवस्था परिवर्तन हुन नसकेको बताउनुहुन्छ । 

८० जना बालबालिका मुग्लान

राष्ट्रिय जनगणना २०७८ अनुसार गुराँस गाउँपालिका–२ को जनसङ्ख्या दुई हजार सात सय ३३ छ । जसमा पाँच वर्षदेखि २० वर्षसम्मका बालबालिकाको सङ्ख्या एक हजार एक सय २१ छ । जसमध्ये बालक छ सय ३० र बालिका चार सय ९१ जना छन् । एउटा माध्यमिक र पाँच वटा प्राथमिक विद्यालय रहेको यस वडामा कूल विद्यार्थीको सङ्ख्या आठ सय ७७ जना रहेको छ । विद्यालयको तथ्याङ्कअनुसार ८० जना विद्यार्थी विद्यालय आउँदैनन् । जसमध्ये अधिकांश विद्यार्थी कक्षा ४ देखि ८ कक्षासम्मका रहेको विद्यालयको भनाइ छ । विद्यालयमा अनुपस्थित विद्यार्थीहरु बाबुआमासँगै भारतका विभिन्न ठाउँमा गएको भैरव प्रावि रानिवनका प्रधानाध्यापक नन्दा शाही बताउनुहुन्छ । अविभावकमा आवश्यक चेतनाको कमी तथा बाध्यताका कारण यस्तो अवस्था आएको भगवती प्रावि शेरिबाडाका प्रधानाध्यापक हर्कबहादुर विसीको भनाइ छ । 

तल्लो डुङ्गेश्वरमा रहेको महादेव माविमा चार सय ८० विद्यार्थी छन् तीमध्ये २० जना विद्यार्थी भारतमा छन् । बिपी प्राविमा भर्ना भएका एक सय विद्यार्थीमध्ये २० जना विद्यालय आउँदैनन । दुर्गादेवी प्रावि पुरैनीमा भर्ना भएका ७१ जनामा पाँच जना विद्यार्थी अभिभावकसँग भारत गएका छन् । 

भैरव प्रावि रानिवन शेरीवाडामा भर्ना भएका ५३ जना विद्यार्थीमध्ये १० जना, भगवती प्रावि शेरिबाडामा भर्ना भएका ३२ जनामध्ये छ जना, भैरव प्रावि लमचुडी एक सय ४१ विद्यार्थीमध्यै १८ जना बाबुआमासँगै भारत गएका छन् । 

यस वडाका बालबालिकामा कुपोषणकोसमेत समस्या पनि रहेको पाइएको छ । वडा नं २ को पुरैनी स्वास्थ्य चौकी इञ्चार्ज किरणकुमार केसीले साझेदार संस्था र गाउँपालिकाको सहयोगमा सचेतना तथा पोषणयुक्त खानाका विषयमा जानकारी गराइँदै आइएको बताउनुभयो । हाल चार जनामा उक्त समस्या छ ।

चेतनाका कार्यक्रम सञ्चालन गर्छौंः वडाध्यक्ष रावल

गुराँस गाउँपालिका–२ का वडाध्यक्ष शेरबहादुर रावलले बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्छ भनेर आफूहरुले पहल गरे पनि कठिनाइ रहेको बताउनुभयो । “बाबुआमासँगै बालबालिका भारत जानुपर्ने बाध्यता गरिबीको कारण हो”, उहाँले भन्नुभयो, “वडाबाट यो समस्या रोक्नका लागि सचेतनाका कार्यक्रम सञ्चालन भइरहेको छ तर पूर्ण रुपमा रोक्न सकिएको छैन ।” उहाँले समस्या समाधानका लागि गाउँमै रोजगारीका कार्यक्रम ल्याउन जरुरी भएको बताउनुहुन्छ ।