काठमाडौँ, माघ २० गते । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने भएको छ । हिजोदेखि ललितपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको बैठकको दोस्रो दिन आज अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत एजेण्डामाथि छलफल हुने भएको हो ।

बैठकमा जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियानको समीक्षा, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेण्डामाथि छलफल भइरहेको छ ।

पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार आजको बैठकमा बाँकी केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुले अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत एजेण्डामाथि आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ ।

साथै बैठक सरकारले ल्याएको अध्यादेश, मधेश केन्द्रित दलहरु बिचको मोर्चा, नो केबलकार आन्दोलनलगायतका वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका विषयमा केन्द्रित रहेको बताइएको छ । हिजोदेखि चलेको बैठक आज समापन गर्ने पार्टीको तयारी छ ।