माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ ।
मकवानपुर, माघ १९ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल, मकवानपुरले आज हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता गुरुङले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
महासचिव गुरुङले अन्तर्राष्ट्रिय राजनीतिमा देखिएको फेरबदलले समेत नेपालको स्वाधीनताको रक्षा गर्नु चुनौतीपूर्ण देखिएको भन्दै मुलुकको स्वाधीनताको रक्षा गर्न सोही अनुसार परराष्ट्रनीति अङ्गीकार गर्न सरकार गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो । यसैगरी, उहाँले संसद्लाई छलेर अध्यादेश ल्याउने सरकारको काम ठीक नभएको पनि बताउनुभयो ।