प्रतिनिधिसभाको बैठक
काठमाडौँ, माघ १८ गते । आजबाट सुरुभएको सङ्घीय संसदको प्रतिनिधिसभा बैठकमा बोल्दै विभिन्न राजनीतिक दलका नेताहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गर्नुभएको छ । आ–आफ्नो दलको तर्फबाट प्रतिनिधिसभाको बैकठकमा बोल्दै सांसदसमेत रहेका नेताहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

बैठकमा बोल्दै जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले नागरिकमा रहेको निराशालाई आशामा बदल्नेगरी संसद्को चालु अधिवेशनबाट आवश्यक विधेयक पारित गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।

आफ्नो दलका तर्फबाट प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद यादवले नियमित रुपमा भए गरेका कामलाई उपलब्धिका रुपमा देखाएर सरकारले छुट नपाउने बताउनुभयो । अर्थतन्त्र सुधारका पक्षमा काम गरिएको भनेर प्रधानमन्त्रीका तर्फबाट आज संसद्मा धारणा राख्नुभएको उल्लेख गर्दै उहाँले तदअनुरुपको काम गर्न आग्रह गर्नुभयो ।

पाथीभरामा केबलकार निर्माणका क्रममा देखिएको विवादका विषयलाई लिएर स्थानीय प्रशासनले बल प्रयोग गर्दा भएको समस्या सिर्जनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै उहाँले घाइतेको निःशुल्क उपचारको प्रबन्ध गर्न माग गर्नुभयो ।

यसैगरी जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले संसद्को हिउँदे अधिवेशनलाई बढीभन्दा बढी प्रभावकारी बनाउने र अधिकतम कानुन निर्माणमा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अध्यक्ष राउतले सरकारले लामो समय संसद् बन्धक बनाएको आरोप लगाउँँदै सञ्चालन भएको बेला बढीभन्दा बढी काम गर्न सक्नुपर्ने बताउनुभयो । “संसद्को साँचो सरकारसँग भएकाले लामो समय बन्धक भयो । ढिलै भए पनि हामीले जनताका कुरा संसद्मा राख्न पाएका छौँ । अधिकतम ऐन कानुन यो संसद्बाट पारित गरौँ”, उहाँले भन्नुभयो । 

सुशासन र लगानी प्रवद्र्धनका लागि आएका अध्यादेश स्वागतयोग्य रहेका उहाँले बताउनुभयो । अध्यादेशमार्फत सूचना प्रविधिका क्षेत्रमा काम गरिरहेका कम्पनीहरुलाई सहजीकरण गर्नसक्ने व्यवस्था सकारात्मक रहेको अध्यक्ष राउतको भनाइ थियो । भूमिहीनलाई व्यवस्थापन गर्ने विषय राम्रो भएको उहाँले बताउनुभयो । “वास्तविक भूमिहीन पहिचान गरेर जग्गा वितरण गर्नुपर्छ”, उहाँले भन्नुभयो ।


प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै जनता समाजवादी पार्टीका सांसद अशोक राईले संविधानमा भएको कमजोरीलाई सुधार गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो दलका तर्फबाट धारणा राख्दै उहाँले जनताको आवाजलाई सम्बोधन गर्न सरकार सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

संसद्लाई थप प्रभावकारी बनाउन सत्तापक्ष र प्रतिपक्षकाबीचमा समझदारी जरुरी रहेको उल्लेख गर्दै उहाँले आजदेखि सुरु भएको सङ्घीय संसद्को अधिवेशनलाई रचनात्मक बनाउनुपर्ने बताउनुभयो ।

उहाँले पाथीभरा केबलकारका सन्दर्भमा भएको विवादमा स्थानीय प्रहरी प्रशासनले बल प्रयोग गरेकामा सरकारको ध्यानाकर्षण गराउनुभयो ।