फाइल तस्वीर: सभापति तुलसाकुमारी दाहाल ।
काठमाडौँ, माघ १८ गते । राष्ट्रियसभाको आजको बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ पेस गरिएको छ । राष्ट्रियसभाको आजदेखि प्रारम्भ भएको सत्रौँ अधिवेशनमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ती विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्नुभएको हो ।
विधेयकसम्बन्धी प्रतिवेदन पेस गर्दै सभापति दाहालले पत्रकारिता क्षेत्रमा पेसागत आचारसंहिता कायम गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो । नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदनले नवीकरणीय ऊर्जा प्रवद्र्धनमार्फत वातावरण संरक्षण र ऊर्जा प्रवद्र्धनबाट दिगो विकासको लक्ष्य हासिल गर्ने लक्ष्य लिइएको सभापति दाहालको भनाई थियो ।