काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद पदबाट गरिएको निलम्बन फुकुवाका लागि सभामुख देवराज घिमिरेसमक्ष आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाका सभामुख घिमिरेलाई भेट्न उहाँकै कार्यकक्षमा पुग्नुभएका लामिछानेले निलम्बन फुकुवाका लागि आग्रह गर्दै निवेदन दिनुभएको हो ।
आफ्नो कार्यकक्षमा रवि प्रवेश गर्नेबित्तिकै सभामुखले लामिछानेको स्वास्थ्यप्रति चासो दिंदै तपाईँको स्वास्थ्य अवस्था के छ ? भनेर सोध्नुभएको थियो ।
सभापति लामिछानेले सभामुख घिमिरेलाई निवेदन दिँदै आफू फौजदारी कसुरको अनुसन्धान भई अदालतहरूबाट थुनामुक्त रहेकाले निलम्बन फुकुवा गर्न माग गर्नुभएको छ । सभामुख घिमिरेलाई निवेदन दिँदै सभापति लामिछानेले ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम मलाई गरिएको निवेदन कानुनसम्मत छैन । आजकै बैठकबाट निलम्बन फुकुवा गरिदिनुहोस्’ भन्नुभयो ।
रविले निलम्बन फुकुवाको माग गर्दै आफ्ना कुरा राखेपछि सभामुखले ‘तपाईंविरुद्ध मुद्दा चलेको होइन र ?’ भनी प्रश्न समेत गर्नुभयो । सभामुखको प्रश्नपछि रविले कानुन व्यवसायीलाई स्पष्ट पार्न भन्नुभयो ।
सभामुख घिमिरेले, ‘मैले विद्यमान कानुन, संसद् नियमावली र अभ्यासबमोजिम निलम्बनको सूचना प्रकाशित गर्ने निर्णय गरेको हुँ । कसैको दबाब, प्रभाव, पूर्वाग्रह र पक्षधरताका आधारमा होइन । हिजो यस पदमा अरू कोही थियो। आज म छु, भोलि अरू कोही हुन सक्छ । तर पदमा रहँदा कानुनको परिपालना गर्नु मेरो दायित्व हो। तपाईंहरूले निवेदन दिनुभएको छ । यो छलफल र परामर्शको विषय हो। आजलाई समय भएन । हामी संसद् सुरु हुने अन्तिम समयमा छौँ’ भनी स्पष्ट पार्नुभयो ।