फाइल तस्वीरः सङ्घीय संसद् भवन ।
काठमाडौँ, माघ १८ गते । सरकारले जारी गरेको पाँचवटा अध्यादेश प्रतिनिधिसभाको आजकै बैठकमा टेबुल हुने नेपाली काङ्ग्रेसले जनाएको छ । उक्त कुराको जानकारी आज बिहान बसेको काङ्ग्रेस संसदीय दलको बैठक पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले अध्यादेश आज शुक्रबार संसदमा टेबुल हुने बताउनुभएको हो ।
सङ्घीय संसद्को १५ औँ अधिवेशन अर्थात् हिउँदे अधिवेशन आज शुक्रबार दिउँसो १ बजेबाट सुरु हुँदैछ । सरकारले गत पुस दोस्रो साता सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र माघ २ गते भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याएको थियो ।
सरकारले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको ति अध्यादेशमध्ये पुस २९ गते पाँच वटा अध्यादेश स्वीकृत गर्नुभएको थियो भने भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश माघ २ गते जारी गर्नुभएको थियो ।
संसद् नरहेका बेला सरकारले ल्याएका अध्यादेश संसद्को अधिवेशन सुरु भएको पहिलो दिन नै सभामा पेस गर्नुपर्ने व्यवस्था अनुसार आज ति अध्यादेशहरु सङ्घीय संसद्का दुवै सदनमा पेश गरिने भएको छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्नुहुने छ ।
यसैगरी अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्नुहुने छ भने भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्नेछन् ।