फाइल तस्वीर
काठमाडौँ, माघ १८ गते ।
सत्तारुढ दल नेपाली काङ्ग्रेस संसदीय दलको बैठक बस्दै छ । आजबाट सुरु हुन लागेको सङ्घीय संसदको हिउँदे अधिवेशनमा पार्टीको उपस्थितिबारे आज बिहान साढे आठ बजे नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्न लागेको हो ।

आज शुक्रबाटदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदहरुको प्रस्तुति लगायतका विषयमा बैठकमा समेत छलफल हुने बताइएको छ ।

पार्टीको यसअघि बसेको दलको बैठकमा बोल्न बाँकी सांसदहरुले आज बिहान बस्ने संसदीय दलको बैठकमा धारणा राखिसकेपछि पार्टीकोतर्फबाट सरकारमा सामेल भएका मन्त्रीहरुले आफूले गरेका कामबारे सांसदहरुलाई जानकारी पनि गराउने कार्यक्रम रहेको छ ।

यस अघि बसेको संसदीय दलको बैठकमा सो दलका २० सांसदहरुले आ–आफ्नो धारणा राखिसक्नुभएको छ । बैठकमा हालै सरकारले जारी गरेको अध्यादेशका विषयमा महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखकले सांसदहरुलाई जानकारी गराउनुभएको थियो ।

यसैगरी बैठकमा कानुन सुधार सुझाव कार्यदलका तीन सदस्यले कानुनमा रहेका व्यवस्था र सुधार गर्नुको कारणका बारेमा पनि जानकारी गराइएको थियो ।