काठमाडौँ, माघ १८ गते । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । संसद् सचिवालयका अनुसार बैठक आज दिउँसो १:०० बजेबाट सुरु हुने भएको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजका लागि हिउँदे अधिवेशनको पहिलो बैठक आह्वान गर्नुभएको छ । अधिवेशनमा संसद्मा प्रतिनिधित्व गर्ने दलहहरू तीन फ्याक्टरमा विभाजन भएर सामूहिक शक्ति सञ्चयको तयारीमा जुटेका छन् । सरकारले विधेयक अधिवेशनका रूपमा अघि बढाउने तयारी गरिरहँदा विपक्षी दलहरूले सरकार पक्षको विरोधको खाका तयार पारेका हुन् ।

सङ्घीय संसद्को दुवै सदन आज बस्न लागेको छ । आज शुक्रबार दिउँसो १ बजे (राष्ट्रियसभा र प्रतिनिधिसभा)को बैठक सुरु हुनेछ । प्रतिनिधिसभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ ।

प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने र प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सांसद्हरुको मनोनयन गर्ने कार्यसूचीमा उल्लेख छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ पेश गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यसैगरी, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश–२०८१, नीजिकरण (पहिलो संशोधन) अध्यादेश–२०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ पेश गर्नुहुने कार्यसूची रहेको छ ।

यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारी सम्बन्धी केही नेपाल येन संशोधन गर्ने अध्यादेश, र भूमि सम्बन्धी केही नेपाल येनलाई संशोधन गर्ने अध्यादेश पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

साथै, बैठकमा पुर्वसभामुख दमननाथ ढुङ्गाना तथा संविधानसभा सदस्य रामजीप्रसाद शर्माको निधनमा शोक प्रस्ताव प्रस्तुत गरिनेछ । प्रतिपक्षी दलले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने तयारी गरेका छन् ।

22