मोरङ, माघ १७ गते । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार अहिले परिवर्तन नहुने बताउनुभएको छ । पेशागत तथा वुद्धिजीवी विभाग र नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशनद्वारा आज विराटनगरमा आयोजित ‘संविधान संशोधन र चुनौती’ विषयक कोशी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै नेता डा कोइरालाले मुख्यरुपमा संविधान संशोधन, आर्थिक विकास र मुलुकमा सुशासन कायम गरी भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने उद्देश्य पूरा गर्ने समयसम्म सरकार रहने प्रष्ट पार्नुभयो ।
नेता डा कोइरालाले प्रतिपक्षी दलसँग वार्ता एवं छलफल गरी सहमतिका आधामा संविधान संशोधन गरेमा सबैको अपनत्व कायम हुने सुझाव दिनुभयो । उहाँले प्रतिनिधिसभाको निर्वाचनमा समावेशीतालाई कायम राखी प्रत्यक्ष निर्वाचन गराएमा निर्वाचनको समस्या समाधान हुनुका साथै राजनैतिक स्थिरता कायम हुने बताउनुभयो ।
प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाले जनतामाझ छलफल गरी संविधान संशोधन गर्न सुझाव दिनुभयो । पूर्वमुख्यमन्त्री केदार कार्कीले जनताको ठूलो बलिदानीबाट ल्याएको सङ्घीयतालाई कार्यान्यवन गर्नु हामी सबैको कर्तव्य हो भन्नुभयो । संविधानविद् वरिष्ठ अधिवक्ता डा भीमार्जुन आचार्यले भाषाको शुद्धाशुद्धि, अवधारणको त्रुटि र संविधानको अन्तरवस्तु संशोधन गर्नु आवश्यक भएको सुझाव दिनुभयो । उहाँले राष्ट्रपति पद राजनीतिक नभएको भन्दै न्यायालय स्वतन्त्र भएमा लोकतन्त्र वलियो हुने धारणा राख्नुभयो ।
नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य एवं वुद्धिजीवी विभागकी प्रमुख डा डिला सङ्ग्रौलाले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न र आर्थिक समृद्धि ल्याउन संविधान संशोधन आवश्यक भएको विचार राख्नुभयो । लयर्स एशोसिएशनका अध्यक्ष सीताराम केसीले भ्रष्टाचार अन्त्य र मुलुकमा सुशासन कायम गर्न संविधान संशोधन आजको आवश्यकता भएको बताउनुभयो । नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू र विभागका प्रदेश अध्यक्ष राम थापाले मानव विकासका लागि संशोधन गर्नुपर्ने सुझाव दिनुभयो । वरिष्ठ अधिवक्ता भरतबहादुर थापाले संविधान संशोधनका विषयबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।