काठमाडौँ, माघ १६ गते । सभामुख देवराज घिमिरे सहिद दिवसका अवसरमा सम्पूर्ण देशवासीलाई एकताको भावनासहित अघि बढ्न आह्वान गर्नुभएको छ । सहिद दिवस २०८१ को अवसरमा आज उहाँले जारी गर्नुभएको शुभकामना सन्देशमा सहिदहरूले सिकाएको सहिष्णुता, एकता र दृढताको मार्गमा अघि बढ्दै उनीहरूको बलिदानलाई सम्मान गर्नु नै सच्चा श्रद्धाञ्जलि हुने उल्लेख छ । “नेपालको दिगो विकास र समृद्धि मात्र सहिदहरूको सपना पूरा गर्ने माध्यम हो”, सन्देशमा भनिएको छ, “देशको समृद्धि हासिल गर्नका लागि हाम्रा योजना र स्रोतलाई सही ढङ्गले परिचालन गर्दै नेपालीको जीवनस्तर सुधार गर्नुपर्ने छ ।”

 विभिन्न आन्दोलनको जगमा अहिले सङ्घीयतासहितको लोकतान्त्रिक प्रणालीमा आइपुगेको उल्लेख गर्दै लोकतन्त्रका खातिर जीवन आहुति दिने सहिदको सपनालाई साकार पार्नु साझा दायित्व सन्देशमा छ । सन्देशमा भनिएको छ, “सहिदहरूले चाहेको न्यायपूर्ण समाज, समानता र समृद्धिका लागि हामीले आफ्नो कर्तव्य निर्वाह गर्नैपर्दछ, निष्ठा, पारदर्शिता र इमानदारीका साथ काम गर्दै सहिदहरूले देखाएको मार्ग अनुसरण गर्नु आजको आवश्यकता हो ।”

 सभामुख घिमिरेले मुलुकको स्वाधीनता, लोकतन्त्र, मानव अधिकार र समतामूलक समाजको परिकल्पनाका लागि विभिन्न ऐतिहासिक आन्दोलनमा सहिदहरूले ज्यानको आहुति दिएर देशलाई नयाँ मार्ग दर्शन दिएका र शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठजस्ता अमर सहिदले दिएको बलिदानको जगमा हाम्रो देशमा राजनीतिक परिवर्तन सम्भव भएको बताउनुभएको छ ।

सभामुख घिमिरेले ऐतिहासिक तथा लोकतान्त्रिक आन्दोलनहरूमा जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात महान् सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सहिद दिवसले सबैलाई देश र जनताको सेवा गर्न थप प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।