काठमाडौँ, माघ १५ गते । चारदलीय समाजवादी मोर्चाले आज वृहत् अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा आज मध्याह्न १२ बजेबाट कार्यक्रम सुरु हुने भएको हो ।

यसअघि बुधबार गर्ने भनिएको कार्यक्रम सबै हल बुकिङ भइसकेकाले एक दिन अघि सारेर आज मङ्गलबार गर्न लागिएको हो । ‘वर्तमान राष्ट्रिय राजनैतिक परिस्थिति र समाजवादी मोर्चा नेपालको कार्यभार’ विषयक कार्यक्रममा सहभागी हुन मोर्चामा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेसपा र नेकपा सहभागी छन् ।


विसं २०८० असार ४ गते नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल र विप्लव नेतृत्वको नेकपालगायतको सहभागितामा समाजवादी मोर्चा गठन गरिएको थियो । तर पछिल्लो समय विभिन्न विषयमा असन्तुष्टि जनाउँदै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल मोर्चामा सक्रिय छैन ।

गत माघ २ गते बसेको मोर्चाको बैठकले शहीद दिवसको अवसरमा माघ १६ गते काठमाडौँमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेकोमा एक दिन अघि नै उक्त कार्यक्रम गर्न लागिएको बताइएको छ ।