काठमाडौँ, माघ १४ गते । लोकसेवा आयोगले सङ्गठित संस्थाका समान कामको प्रकृति, सेवा समूह, उपसमूह, शैक्षिक योग्यता मिल्ने पदहरू एकीकृत गर्ने र संयुक्त परीक्षा प्रणाली अवलम्बन गर्नेबारे छलफल गरेको छ । आज आयोगको कार्यालयमा सङ्गठित संस्थाहरूको पदपूर्तिसम्बन्धी छलफलमा परीक्षा प्रणाली व्यवस्थित, ‘क्लष्टरिङ’ र सोहीअनुसार प्रभावकारी कार्यसम्पदान सम्बन्धमा छलफल भएको हो । कार्यक्रममा नेपाल सरकारको ५१ प्रतिशतभन्दा बढी स्वामित्व भएका विभिन्न ७४ सङ्गठित संस्थाका प्रमुख तथा मानव संशाधन हेर्ने प्रमुखको सहभागिता थियो ।
छलफलमा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सेवाग्राहीको मागअनुसार पदपूर्ति गर्दै आएको बताउँदै आयोगले योग्यता, निष्पक्षता र स्वच्छताको जिम्मेवारी पूरा गरेको उल्लेख गर्नुभयो । उहाँले संस्थाको प्रकृतिअनुसार फरकफरक परीक्षा प्रणाली गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै कर्मचारी भर्ना गर्दा संस्था स्वयं पनि जवाफदेही हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा आयोगका सदस्य वीरबहादुर राईले पदपूर्ति प्रणालीमा प्राप्त सुझावका आधारमा खर्च घटाउने, दिगो बनाउने र समय तालिकाअनुसार नै काम हुने अवस्थाका लागि सहजीकरण गर्ने बताउनुभयो । आयोगका सचिव डिल्लीराम शर्माले छलफलबाट विभिन्न कमजोरी र सुधारबारे सुझाव प्राप्त भएको बताउनुभयो ।
पूर्वसचिव विमलप्रसाद वाग्लेले कार्यपत्र प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा विभिन्न नौ कार्य समूह विभाजन गरी ११ प्रश्नमाथि छलफल गर्नुका साथै समूहगत प्रस्तुति गरिएको थियो ।