विराटनगर, माघ १४ गते । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले राजनीति पैसाका लागि नभई देश र जनताका लागि हुनुपर्ने बताउनुभएको छ । नोना कोइराला स्मृति प्रतिष्ठानद्वारा नोना कोइरालाको १८औँ स्मृति दिवसको अवसरमा आज यहाँ आयोजित पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्नुपर्नेमा अहिलेको राजनीति सत्ता र पैसाको पछि हिँडिरहेको टिप्पणी गर्नुभयो ।

उहाँले तीनै तहको सरकारमा रहेका अधिकांश व्यक्तिगत स्वार्थमा केन्द्रित भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “अहिले राजनीतिलाई व्यवसायीकरण गरिँदैछ । राजनीति भनेको पेशा, व्यवसाय होइन सेवा हो ।” 

उहाँले सरकारले संसद्लाई पर सारेर अध्यादेश ल्याएकोमा आपत्ति जनाउँदै संसद् बस्ने समय नजिकिँदै गर्दा हतारमा अध्यादेश ल्याउँदा आमजनताले आशंका गरेको उल्लेख गर्नुभयो । 

विराटनगर महानगर प्रमुख नागेश कोइरालाले स्वर्गीय नोना कोइरालाको स्मरण गर्दै राजनीतिक, धार्मिक, सामाजिक व्यक्तित्व रहेको बताउनुभयो । कोइराला परिवारलाई एकढिक्का बनाएर राजनीतिमा अगाडि बढाउन नोनाको ठूलो योगदान रहेको चर्चा उहाँले  गर्नुभयो ।

प्रतिष्ठानकी अध्यक्ष पुनम कोइरालाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा यस वर्षको नोना कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार किशोर नेपाल पुरस्कृत हुनुभएको छ । उक्त पुरस्कारको राशि रु २५ हजार रहेको छ ।