काठमाडौँ, माघ १४ गते । प्रतिनिधिसधाका सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका मुख्य सचेतक र प्रमुख सचेतको बैठकले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ । आजको बैठकमा भोलि मंगलबारका लागि बोलाइएको समितिको बैठकको एजेन्डाबारे छलफल भएको हो ।


बैठकमा संसद्को माघ १८ गतेदेखि सुरु हुन लागेको हिउँदे अधिवेशनको समय तालिका (क्यालेन्डर) तयार भएको छ । आज सोमबार सभामुख घिमिरेले प्रमुख पाँच दलका सचेतकहरुसँग सिंहदरबारमा राखेको छलफलमा माघ महिनाभरीको क्यालेन्डर बनाउन दलहरू तयार भएका हुन् ।

त्यस्तै सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाकाअनुसार संसद्को पहिलो दिनको बैठकमा सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यसूची छ । उहाँका अनुसार सरकारले ल्याएका सबै अध्यादेशहरू १८ गतेको बैठकमै पेस हुनेछन् । त्यसपछि माघ २२, २३ र २४ गते लगातार संसद् बैठक बस्नेछ । २२ गते अध्यादेशहरू निर्णयार्थ पेस गरिनेछ, । अध्यादेश परिपक्व हुन केही दिन लाग्ने भएकाले २२ गते सबै ती अध्यादेशहरु निर्णयार्थ पेस हुनेछ । २५, २६ र २७ गते भने संसदीय समितिको बैठक बस्नेछन् । २८, २९, ३० गते संसद् बैठक बस्नेछ ।

यो बीचमा शून्य समय र विशेष समय पनि चलाउने तय भएको मुख्य सचेतक बर्तौैलाले जानकारी दिनुभयो ।