काठमाडौँ, माघ १३ गते । नेपाल निजामती कर्मचारी सङ्गठन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विभागीय कार्यसमितिमा नयाँ नेतृत्व चयन भएको छ । समितिको १२औँ अधिवेशनले झलनाथ नेपालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको खुला उपाध्यक्षमा महेशचन्द्र गिरी, महिला उपाध्यक्षमा अन्जु भट्टराई, सचिव सदानन्द सापकोटा, सहसचिव अम्बर अधिकारी, कोषाध्यक्ष रामबाबु खनाल निर्वाचित गरेको छ ।
यसैगरी समितिको सदस्यहरुमा उर्मिला घिमिरे, रमला पराजुली, चन्द्रेश्वर राना, भूपध्वज राई र पूर्णप्रसाद अगस्थी हुनुहुन्छ । केन्द्रीय प्रतिनिधि खुलामा राम घिमिरे, केन्द्रीय प्रतिनिधि महिलामा तारा न्यौपाने पोखरेल निर्वाचित हुनुभएको छ ।
प्रदेश प्रतिनिधिमा खुलामा देवेन्द्र सुवेदी, प्रदेश प्रतिनिधि महिलामा रुक्मणी भट्टराई, लेखापरीक्षण आयोगको संयोजकमा अर्जुन गौतम र सदस्यमा झुमा घिमिरे निर्वाचित हुनुभएको छ ।
अधिवेशनलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नेतृत्वबाट पेसागत हक हितको सुरक्षा एवं प्रशासनलाई सुदृढ, सक्षम, सेवामूलक, सभ्य र जनमुखी बनाई राष्ट्रिय लक्ष्य प्राप्तिका लागि भूमिका खेल्न आग्रह गर्नुभएको छ । निजामती सेवालाई छिटोछरितो, मर्यादित, व्यावसायिक तथा नतिजामूलक बनाउँदै जनताको विश्वास आर्जन गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।
अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्रीका आर्थिक मामिला तथा विकास सल्लाहकार डा युवराज खतिवडाले सरकारको भावनाअनुसार जनउत्तरदायी भई प्रभावकारी काम गर्न आग्रह गर्नुभयो । निजामती कर्मचारीले पदीय मर्यादामा रही निष्पक्ष सेवा प्रवाह गर्नुपर्नेमा उहाँको जोड थियो । निजामती कर्मचारी सङ्गठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले शुभकामना मन्तव्य व्यक्त गर्दै कर्मचारीको हितमा काम गर्न नयाँ समितिले योगदान गर्ने विश्वास गर्नुभयो ।