काठमाडौँ, माघ १२ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले नयाँ पुस्तालाई राजनीतिमा जोड्न नसक्ने राजनीतिक दलले देशका लागि काम गर्न नसक्ने धारणा व्यक्त गर्नुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा आज यहाँ आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा उहाँले एमाले युवामा भरोसा गर्ने र युवालाई अवसर दिने पार्टी भएको उल्लेख गर्दै पोखरेलले देश बनाउने अभियानको अगुवाइ युवाहरुले गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नयाँ पुस्तालाई राजनीतिसँग जोड्न सकिँदैन भने त्यो राजनीतिक दलको भविष्य लामो हुन सक्दैन । युवाहरुलाई साथमा लिएर हिँड्न सक्नुपर्छ । अबको युग युवाको युग हो, युवाको साथमा एमाले छ ।”

महासचिव पोखरेलले लोकतान्त्रिक शासन व्यवस्थामा जनताले पत्याएका दलले शासन गर्नुपर्ने र ती दलले शासन स्वभाविक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “धेरैलाई दुई ठूला दल मिल्ने कुरा अप्राकृतिक भयो भन्ने लागिरहेको छ । जुन गलत हो, जनताले अस्वीकार गरेका दलहरू शीर्षस्थानमा रहने कुरा अप्राकृतिक हो ।”

उहाँले कांग्रेस–एमाले सधैँभरिका लागि नमिलेका पनि उहाँले स्पष्ट पार्नुभयो । जनताका बीचमा जाने बेलामा नेकपा ९एमाले० र नेपाली कांग्रेसले एकापसमा गठबन्धन नगर्ने समेत उल्लेख गर्नुभयो । देश बनाउनका लागि धेरै राजनीतिक दल होइन ठूला र बलिया राजनीतिक दल आवश्यक रहेको उहाँको भनाइ थियो । “ठूला र जनमतप्राप्त दलले मात्र मुलुकमा विकास र समृद्धिका लागि काम गर्न सक्छन्”, उहाँले भन्नुभयो, “देशलाई विकास र समृद्धिको बाटोमा लैजान जनमतप्राप्त राजनीतिक दल, स्पष्ट राजनीतिक दृष्टिकोण र दूरदर्शी नेतृत्व चाहिन्छ”, पोखरेलले बताउनुभयो ।

एमाले पार्टीको नीति एमालेको मात्रै नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “एमालेको नीति मुलुकको नीति बन्नुपर्छ । एमालेको ‘मिसन–८४’ एमालेको एकल बहुमतको सरकारका लागि हो ।”

त्यसअवसरमा युवा सङ्घको पूर्वअध्यक्ष महेश बस्नेतले युवा सङ्घ बौद्धिक मात्र नभई प्रतिरोधी सङ्गठन रहेकाले राज्यलाई सचेत बनाउनमा पनि सक्रिय रहने बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घले उठाएका मुद्दाहरु राष्ट्रिय ‘एजेन्डा’ बन्छन् । सामाजिक न्यायमा योगदान दिन, सिर्जनशील र रचनात्मक बाटोमा सङ्घ लाग्नुपर्छ ।” उहाँले आफूहरु सदैव स्वतन्त्र प्रेसको पक्षमा रहेको उल्लेख गर्दै सत्य सूचना जनतामा पुग्नुपर्ने र व्यक्तिको चरित्र हत्या हुने गरेर अप्रमाणित विषयवस्तुबारे मिडियालाई बोल्ने छुट नभएको बताउनुभयो ।  

युवा सङ्घका अध्यक्ष क्षितिज थेबेले युवाहरुलाई नीति निर्माणमा सहभागी गराउँदै रोजगारी सृजना, आत्मनिर्भर र उद्यमशीलताका योजनालाई अघि सार्न भेलाको आयोजना गरिएको बताउनुभयो ।

सङ्गठनका इन्चार्ज राजीव पहाडी यो भेलाले नेपाली युवा आन्दोलनलाई सकारात्मक दिशामा अगाडि बढाउनका निम्ति मार्गदर्शन दिने बताउनुभयो । उहाँले भन्नुभयो, “युवा सङ्घले उठाउँदै आएका मुद्दा र आन्दोलनको विषय जायज छन् । सामाजिक सञ्जालमा गलत क्रियाकलाप र नकारात्मक कुराको भण्डाफोर गर्दै सकारात्मक सन्देश प्रवाह गर्न म युवाहरुलाई आग्रह गर्छु ।”

त्यसअवसरमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका तीन जनालाई सम्मान पनि गरिएको थियो । जसमा क्रिकेटमा योगदान पु¥याउने पारस खड्का, पारा ओलम्पियन पलेशा गोवद्र्धन र सञ्चारक्षेत्रमा योगदान पुर्‍याउने असगर अलीलाई सम्मान गरिएको थियो ।