गोदावरी, माघ १२ गते । प्रतिनिधिसभा सदस्य एवं नेपाली काङ्ग्रेसका नेता उदयशमशेर जवराले मुलुकको आवश्यकताका आधारमा काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच गठबन्धन भई वर्तमान सरकार गठन भएको बताउनुभएको छ । गोदावरी नगरपालिका–१ मा सो पार्टीले आयोजना गरेको सयदिने विशेष अभियानअन्तर्गतको क्रियाशील भेलामा ललितपुर–१ का सांसदसमेत रहनुभएका उहाँले अहिले सरकार गठनका लागि गठबन्धन गरिएको भए पनि आगामी निर्वाचनमा भने गठबन्धन नहुने स्पष्ट पार्नुभयो । उहाँले संविधान संशोधन गरी चुनावी प्रक्रिया समयानुकूल बनाइनुपर्नेमा समेत जोड दिनुभयो ।
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले काङ्ग्रेस जनताको चाहनाअनुरूप विकास निर्माणमा प्रतिबद्धता रहेको बताउनुभयो । वडा नं १ का अध्यक्ष श्रीराज थापाले २०४८ सालदेखि वडाको नेतृत्व नेपाली काङ्ग्रेसले गरिरहेकाले आगामी दिनमा पार्टीलाई अझ बलियो बनाउने प्रतिबद्धता जनाउनुभयो । त्यस अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।