कञ्चनपुर, माघ ११ गते । नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापितलाई पुनःस्थापना गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा नेपाली काङ्ग्रेस नगर कार्य समितिले आज आयोजना गरेको सय दिने विशेष अभियान कार्यक्रममा उहाँले निकुञ्ज विस्थापीतको समस्या समाधानका लागि गठन भएको आयोगले तीन महिनाको कार्य अवधिभित्रै सरकारलाई सुझावसहितको प्रतिवेदन बुझाएको बताउनुभयो ।
प्रतिवेदनमा विस्थापितलाई रू १० लाखका दरले मुआब्जा दिने उल्लेख भएको जानकारी दिनुहुँदै उहाँले प्रतिवेदनमा भएका कमी कमजोरीलाई मन्त्रिपरिषद्ले परिमार्जन गरी पीडितलाई न्याय दिनुपर्ने बताउनुभयो ।
केन्द्रमा सांसद, प्रदेशमा मन्त्री, स्थानीय तहमा नगरप्रमुखसहितको बहुमत जनप्रतिनिधि भएका बेला विकास गर्न सकेन भने त्यसको अपजस काङ्ग्रेसको टाउकोमा आउने भएकाले विकासका लागि कटिबद्ध भएर लाग्नुको विकल्प नभएको बताउनुभयो ।
“काङ्ग्रेसलाई मिसन २०८४ भन्ने छुट छैन, देशको ठूलो पार्टी भएकाले २०८४ कुर्नुपर्ने काम छैन, कुर्ने काम हारेकाले हो”, उहाँले भन्नुभयो, “काङ्ग्रेसलाई जनताले ०७९ मा नै म्यान्डेट दिइसकेकाले आजको दिन देखिनै जनताका आकांक्षा र विकासका काममा कटिबद्ध भएर लाग्नु पर्छ ।”