काठमाडौँ, माघ ११ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्धको जनसंघर्षलाई सशक्त बनाउने जनाएको छ । आज शुक्रबारबाट काठमाडौंमा सुरु भएको राप्रपा केन्द्रीय कार्यसमितिको बैठकले विभिन्न माग राख्दै पार्टीले गरिरहेको आन्दोलन र जनसंघर्षलाई ठोस स्वरुप दिएर सशक्त बनाउने अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो ।

बैठकमा सरकारको कार्यशैलीको समीक्षा, पार्टीका आगामी रणनीति, प्रतिपक्षको भूमिका र अन्य सहकार्य लगायतका विषयमा समेत छलफल हुने बताइएको छ । कांग्रेस–एमालेजस्ता ठुला दल मिलेर बनेको सरकारले जनतामा आशा जागृत गर्न नसकेको, निराशा पैदा भएको र अर्थतन्त्र समेत शिथिल हुँदै गएको अध्यक्ष लिङ्देनले बताउनुभयो ।

अध्यक्ष लिङ्देनले सरकारले प्रजातन्त्रलाई समेत कमजोर बनाउने गरी संसदलाई छलेर अध्यादेशमार्फत मुलुक सञ्चालन गर्ने परिस्थितिमा समेत बैठकमा समीक्षा हुने बताउँदै सरकारले प्रजातन्त्रलाईसमेत कमजोर बनाउने गरी संसद्लाई छलेर अध्यादेशमार्फत मुलुक सञ्चालन गर्ने परिस्थितिमा समेत बैठकमा समीक्षा हुने उल्लेख गर्नुभयो ।

त्यस्तै पार्टीको जिल्ला अधिवेशनको समीक्षा गर्दै तीव्रता दिन आवश्यक निर्देशन समेत बैठकले दिने राप्रपाले जनाएको छ । बैठक शनिबार सम्पन्न हुने बताइएको छ ।