फाइल तस्वीर

काठमाडौँ, माघ ११ गते । प्रधानमन्त्री केपी शर्मा ओली पाल्पा र रुपन्देहीमा तय भएका पूर्व निर्धारित कार्यक्रममा भर्चुअल माध्यमबाट सम्बोधन गर्ने हुनुभएको छ । दुई दिनदेखि स्वास्थ्यमा समस्या भएर निवासमै आराम गरिरहनुभएका प्रधानमन्त्री ओली चिकित्सकको सल्लाह बमोजिम उपत्यका बाहिरको यात्रा नगरी सडक र भवन उद्घाटन तथा शिलान्यास कार्यक्रममा भर्चुअल माध्यमबाट सहभागी हुने हुनुभएको हो ।


स्वास्थ्य अवस्थाका कारण ओली पूर्व निर्धारित कार्यक्रममा भौतिक रूपमा सहभागी हुन नसक्ने हुनुभएको उहाँको सचिवालयले जनाएको छ । डाक्टरहरूको सुझाव अनुसार प्रधानमन्त्री ओलीले पूर्वनिर्धारित कार्यक्रममा भौतिक सहभागिता रद्द गरेको बताइएको छ ।

बिहान सवा ११ बजे पाल्पाको पाल्पाको बगनासकाली गाउँपालिका भवन र तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट आफ्नो उपस्थिति हुनुभएको छ ।

त्यस्तै, राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु कार्यक्रम पनि प्रधानमन्त्रीले भर्चुअल माध्यमबाटै गर्ने हुनुभएको छ । ती कार्यक्रममा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल सहभागी हुनुहुन्छ । त्यस्तै आज बुटवल–गोरुसिंगे सडक स्तरोन्ततिको शिलान्यास कार्यक्रम पनि प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाटै शिलान्यास गर्नुहुने भएको छ ।