काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस हुने भएको छ । रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा अस्ति बुधबारदेखि बहस चलिरहेको छ । सभापति लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस हिजो सकिए पनि पीडित पक्षको दुई वकिलको बहस भने बाँकी रहेकाले आज शुक्रबार पनि उहाँ अदालतमा उपस्थित हुन लाग्नुभएको हो ।
रास्वपा सभापति लामिछाने आज शुक्रबार १०ः३० बजे अदालतमा उपस्थित हुने सर्तमा हिजो परिवारको जिम्मा लगाइएको थियो । रुपन्देही जिल्ला अदालतमा आज पीडित र रविका तर्फबाट बहस हुनेछ । आज सुरुमा जाहेरवाला तर्फका वकिलहरू वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता आर्सी गौतमले बहस गरेपछि लामिछानेका वकिलहरूले बहस गर्ने तयारी रहेको बताइएको छ ।
लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्तसहितका अधिवक्ताको बहस सकिएपछि सरकारी वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी बहस गर्नेछन् । त्यसपछि मात्रै न्यायाधीशले थुनछेक आदेशमार्फत पुर्पक्षका लागि थुनामा जाने या धरौटीमा रिहा हुने वा साधारण तारिखमा रिहा हुने आदेश सुनाउनेछन् ।
प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उहाँमाथी उजुरी गरिएको हो । यसअघि उहाँ कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर रिहा हुनुभएको थियो ।