कास्की, माघ ११ गते । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा मानबहादुर घर्तीमगर (एमबी आस्था) निर्वाचित हुनुभएको छ । मञ्चको बिहीबार साँझ अबेर सम्पन्न तेस्रो अधिवेशनले आगामी दुईवर्षे कार्यकालका लागि आस्थाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । प्रतिस्पर्धी सुरज श्रेष्ठलाई नौ मतान्तरले पराजित गर्दै आस्था निर्वाचित हुनुभएको हो ।

यसैगरी, उपाध्यक्षमा राजाराम पौडेल, उपाध्यक्ष समावेशीमा उमा आलेमगर, महासचिवमा पर्शुराम शर्मा, सचिवमा राजु गिरी र कोषाध्यक्षमा विमल तिवारी निर्वाचित हुनुभयो । मञ्चको उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यमा सर्वसम्मत भए पनि अध्यक्ष, उपाध्यक्ष ९समावेशी०, महासचिव र सचिवमा निर्वाचन भएको थियो ।

यसैगरी, कार्यसमिति सदस्यमा कृष्ण दवाडी, गीता राना, चेतबहादुर ९प्रवीण० थापा, बसबहादुर ९वसन्त० शेर्पा, रिखिराम जिसी, विजय नेपाली र बालकुमारी पौडेल निर्वाचित हुनुभयो । नवनिर्वाचित अध्यक्ष आस्था मगरले खेलकुद विधामा कलम चलाइरहेका पत्रकारको क्षमता अभिवृद्धिका लागि योजना बनाएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मञ्चको अधिवेशन गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्नुभएको थियो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारहरूको साझा संस्था हो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रूपमा स्तरोन्नति गर्दै २०७५ सालमा स्वायत्त संस्थाका रूपमा विकास गरिएको हो ।

मञ्चले खेल पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम तथा खेल क्षेत्रमा कलम चलाउने पत्रकारको हकहित र सहयोगका लागि काम गरिरहेको छ । मञ्चले हरेक वर्ष भव्य समारोहबीच आयोजना गर्ने पोखरा स्पोट्र्स अवार्डले खेल क्षेत्रमा अगाडि बढ्नेलाई उत्प्रेरणा दिने कार्य मात्र नगरी मञ्चप्रतिको आकर्षण बढाएको छ ।