काठमाडौँ, माघ १० गते । सङ्घीय संसद्अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ । आज कानून, न्याय तथा मानवअधिकार समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।


जसअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बिहान ११ः३० बजे बस्दै छ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरी, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ः३० बजे सिंहदरबारमा बस्दैछ । सो बैठकमा नेपाल मेडिकल व्यवसायी सङ्घ र नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित दफाहरूमा छलफल गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ ।