बुटवल, माघ ९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । सुप्रिम सहकारी ठगीसम्बन्धी अभियोगको प्रतिवाद गर्न आज बुधबार आफै अदालतमा हाजिर हुनुभएका रास्वपा सभापति लामिछानेलाई जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा दिनभर बयान लिइएको थियो । बयान सकिएपछि उहाँलाई परिवार र कानुन व्यवसायीको जिम्मा लगाइएको हो ।

सभापति लामिछानेलाई भोलि बिहिबार बिहान १० बजे अदालतमा उपस्थित गराइ थुनछेक बहस सुरु हुने बताइएको छ । गत आइतबार जिल्ला अदालत रुपन्देहीमा रविसहित २२ जनाविरुद्ध सुप्रिम सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता गरिएकोे थियो । लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाएर सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतमा पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ बिगो कायम गरिएको छ ।

यसअघि पोखराको सूर्यदर्शन सहकारीमा ६५ लाख र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीमा ६० लाख धरौटी बुझाएर रिहा हुनुभएको थियो । आज बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लागि आज सभापति लामिछाने जिल्ला अदालत रुपन्देही पुग्नुभएको हो ।