काठमाडौँ, माघ ९ गते । सङ्घीय संसद्अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बुधबार बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपालमा हिउँदको समयमा हुने डढेलो प्रकोपको क्षति न्यूनीकरण पूर्वतयारीका सम्बन्धमा सरोकारवाला निकायहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, पूर्वाधार विकास समितिको बैठक ११ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने तयारी रहेको छ ।

यसैगरी, सार्वजनिक लेखा समितिको बैठक पनि आज बिहान ११ बजे सिंहदरबारमा नै बस्दैछ । सो बैठकमा सिमेन्ट उत्पादन तथा बजार मूल्य सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक आज बिहान ११ः३० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।