काठमाडौँ, माघ ९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज रुपन्देही अदालतमा उपस्थित हुँदै हुनुहुन्छ । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन सभापति लामिछाने आज अदालतमा उपस्थित हुन लाग्नुभएको हो । त्यसका लागि उहाँ हिजै त्रिभुवन विमानस्थल हुँदै भैरहवा पुग्नुभएको छ ।

कास्की प्रहरी हिरासतमा रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उहाँलाई कात्तिक २७ मा बुटवल लगेर बयान गराइएको थियो । १ हजार ८ सय ३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको सो सहकारीमा सरकारी वकिलको कार्यालयले पूरक अनुसन्धान गरेर मुद्दा चलाउने राय लिएपछि रुपन्देही जिल्ला अदालतमा रविविरुद्ध मुद्दा दर्ता भएको थियो ।

प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उहाँमाथि उजुरी गरिएको जनाएको छ । यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर रिहा हुनुभएका सभापति लामिछाने बुटवल पछि चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ । यी जिल्लाबाट पनि पक्राउ पुर्जी जारी गरेकाले चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसक्नुभएको छ । बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनको मुद्दामा बयानका लागि उहाँ हिजो नै बुटवल पुगेको र आज अदालतमा उपस्थित हुन लाग्नुभएको हो ।