काठमाडौँ, माघ ८ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले सुरक्षित र मर्यादित वैदेशिक रोजगारीका लागि इमान्दारीतापूर्वक सेवा प्रवाह गर्न व्यवसायीलाई सुझाव दिनुभएको छ । वैदेशिक रोजगार बोर्ड सचिवालयद्वारा आज यहाँ आयोजित ‘कानुनी/नैतिक भर्तीसम्बन्धी कार्यशाला गोष्ठी’ मा उहाँले वैदेशिक रोजगार व्यवसायप्रति आमनागरिकको विश्वास बढ्ने गरी काम गर्नुपर्ने बताउनुभयो । त्यसका लागि सेवा प्रवाह पारदर्शी बनाउन सुझाव दिँदै उहाँले नैतिक व्यवहार अवलम्बन गर्न आग्रह गर्नुभयो ।

मन्त्री भण्डारीले आप्रवासी श्रमिकलाई अकाल मृत्यु र ऋणको पासोमा पर्न नदिन पनि व्यवसायी जिम्मेवार हुनुपर्ने बताउनुभयो । मन्त्रालयले श्रमिकलाई वैदेशिक रोजगार प्रस्थान अघिपछि तालिम एवं सुसूचित गराउँदै आएको उहाँको भनाइ थियो । मन्त्रालयले वैदेशिक रोजगारमा जानेलाई बिना धितो ऋण उपलब्ध गराउन कार्यविधि तयार गरिरहेको उहाँले जानकारीसमेत दिनुभयो । 

“वैदेशिक रोजगारीमा १६ वर्षमा १४ हजार नेपाली श्रमिकको मृत्यु भइसकेको छ । अहिले पनि खाडीमुलुकबाट आएका ४० प्रतिशत श्रमिक डायलासिस गर्दैछन्, धेरै मिर्गौलाका बिरामी छन्”, उहाँले भन्नुभयो, “श्रमिकलाई बचाउने हिसाबले सरकार अघि बढेका छौँ । व्यवसायी पनि नैतिक हुन्छु भन्ने प्रण गर्नुहोस् ।”

उहाँले श्रमिकको सुविधाका लागि मन्त्रालय र मातहतका निकायको कामलाई पूर्णरूपमा ‘डिजिटलाइजेसन’ गर्न प्रयासरत रहेको बताउनुभयो । व्यवसायी र श्रमिकबीचको विचौलियालाई हटाउन जोड दिँदै उहाँले अध्यादेशमार्फत आएको सुशासन ऐनको व्यवस्थाअनुसार अनावश्यक काम अल्झाउने र अड्काउने सरकारी निकायलाई कारबाही गर्न कानुनी उपचारको प्रयोग गर्न सुझाव दिनुभयो । सरकारी निकायले कुनै विषयमा निर्णय गर्न सात दिन बढी लगाएमा कारबाही गर्ने व्यवस्था उक्त ऐनमा छ । 

मन्त्री भण्डारीले शैक्षिक परामर्श केन्द्र ९कन्सल्टेन्सी०बाट अध्ययन तथा कलेजको नाममा वैदेशिक रोजगारीमा पठाउने काम भइरहेकोप्रति आफ्नो ध्यानार्कषण भएको बताउनुभयो । “साठी हजार नेपाली विद्यार्थी भिसामा जापानमा गएको देखियो । तर यर्थाथमा पाँच हजार पनि विद्यार्थी हुनुहुन्न”, उहाँले विद्यार्थीको भिसामा विदेश जाने श्रमिकको बढ्दो सङ्ख्याप्रति चिन्ता प्रकट गर्दै भन्नुभयो । 

उक्त कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले श्रमिकलाई झुठो आश्वासन नबाँड्न व्यवसायीलाई सचेत गराउनुभयो । “झुठा वाचा नगर्नुहोस्”, महानिर्देशक खत्रीले भन्नुभयो, “श्रमिकले आफ्नो सम्झौताअनुसारको काम र पारिश्रमिक पाइरहेका छैनन् । श्रमिकसँगै स्वयम् व्यवसायीको हित र सम्मान बढ्ने काम गर्नुहोस् ।” वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीले यस गोष्ठीमा  सरकार र व्यवसायीबीचको घनिभूत छलफलबाट निष्कर्षमा पुगिने बताउनुभयो ।