चितवन, माघ ८ गते । नेपाली काङ्ग्रेसका नेता डा शशाङ्क कोइरालाले देशलाई स्थिरता र विकास दिनका लागि अहिलेको सरकार बनेको बताउनुभएको छ । दुई ठूला दल मिलेर बनेको सरकारले देशमा राजनीतिक स्थिरतासँगै विकास निर्माणमा जोड दिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उहाँले दुई ठूला दलको नेतृत्वमा बनेको सरकारले राजनैतिक स्थायित्वसँगै विकास निर्माणका लागि काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले नै सरकार परिवर्तन हुन्छ भन्ने मलाई लाग्दैन ।” अब नेपालको विकासका लागि स्थिर सरकार दिएर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । 

स्थिर सरकारबाट मात्रै विकासका काम अघि बढ्ने उहाँको भनाइ छ । संविधान संशोधनका लागि सबै दलसँग सहकार्य गर्दै अघि बढ्न कांग्रेस तयार रहेको उल्लेख गर्दै उहाँले विपक्षी दलहरुसँग समेत छलफल भइरहेको बताउनुभयो । संविधान परिवर्तन गर्दा कुन बुँदामा गर्ने हो स्पष्ट हुनुपर्ने उहाँको भनाइ छ ।