काठमाडौँ, माघ ८ गते । सङ्घीय संसद्अन्तर्गत आज पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । आज सार्वजनिक लेखा समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकारी समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।
जसअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक दिउँसो साढे ११ बजे बस्दै छ । बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल हुनेछ ।
यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज दिउँसो १ बजे बस्नेछ । बैठकमा महान्यायाधिवक्ताको कार्यालयको काम कारबाहीको सम्बन्धमा छलफल हुनेछ ।
यस्तै, सार्वजनिक लेखा समितिको बैठक आज मङ्गलबार बिहान ११ बजे बस्दैछ । सो बैठकमा उपसमितिहरुले समितिमा छलफल गर्ने भनी औँल्याएका विषय, समितिमा प्राप्त उजुरी उपरहरु सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज दिउँसो ३ बजे बस्नेछ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग छलफल हुनेछ ।
यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बिहान ११ बजे बस्दै छ । बैठकमा समितिको कार्ययोजना कार्यान्वयन अवस्थाको सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ । यी सबै समितिका बैठक सिंहदरबारमा बस्नेछ ।