काठमाडौँ, माघ ७ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले धौवादी फलाम उद्योग सञ्चालन प्रक्रिया छिटो अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । पूर्वी नवलपरासीको हुप्सेकोट स्थित उक्त खानी उद्योग सञ्चालनका विषयमा आज काठमाडौँमा सरकारी तथा निजी क्षेत्रका सरोकारवालासँग गरिएको अन्तरक्रियामा बोल्दै उहाँले उक्त उद्योग छिटो सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको हो ।
धौवादी फलाम खानीको उत्खनन्, प्रशोधन तथा प्रयोग वर्तमान सरकारको चासो र प्राथमिकताको विषय भएको उहाँको भनाइ छ । उक्त फलाम उद्योग सञ्चालनको विषय तेस्रो लगानी सम्मेलनका बेला प्राथमिकताका साथ उठेकामा हाल यसबारे भइरहेका छलफलले उपयुक्त निर्णय गरी फलाम उद्योग सञ्चालन गर्नुपर्ने मन्त्री भण्डारीले बताउनुभयो ।
मन्त्रालयका सचिव कृष्णबहादुर राउतले उक्त खानी उद्योग सञ्चालन हुँदा व्यापार घाटा घट्नुका साथै अन्तर्राष्ट्रिय बजारमा फलाम निर्यात गरी आर्थिक विकास गर्न सकिने बताउनुभयो । करिब रु ५२ अर्ब बढी लागतमा निर्माण हुने उक्त फलाम उद्योग सञ्चालन गर्न ५५ प्रतिशत सरकारी र ४५ प्रतिशत निजी क्षेत्रको लगानी रहने विषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।
अन्तरक्रियामा प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार डा युवराज खतिवडाले फलाम उद्योग सरकारको नेतृत्व र निजी क्षेत्रको सहभागितामा सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । धौवादी फलाम उद्योग सञ्चालनका लागि सरकार र निजी क्षेत्रसँगै अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।
कम्पनीका कार्यकारी निर्देशक डा जनकबहादुर चन्दले कम्पनीको लक्ष्य तथा उद्देश्यहरू समयमै हासिल गर्न कम्पनीका भावी कार्य योजनालाई छिटोछरितो सञ्चालन गर्नु जरुरी रहेको बताउनुभयो ।
विसं २०६८ सालमा हुप्सेकोट गाउँपालिका–५ को पोखरी, दुरुलङ्गा तथा धौवादी क्षेत्रमा फलाम खानी पत्ता लागेको थियो । उक्त खानीको धाउ क्षेत्र करिब ४१ वर्ग किलोमिटरमा फैलिएको छ । उक्त खानीबाट २०८५ सालदेखि व्यावसायिक उत्पादन गर्ने लक्ष्य छ ।
खानी सञ्चालन भएमा करिब दुई हजार पाँच सयले प्रत्यक्ष र अप्रत्यक्ष २५ हजार जनाले अप्रत्यक्ष रूपमा रोजगारी पाउने बताइएको छ । उक्त खानीबाट दैनिक एक हजार पाँच सय टन फलाम उत्पादन हुने बताइएको छ ।
सरकारले विसं २०७६ मा धौवादी फलाम खानी लिमिटेड गठन गरेको थियो । खानी पूर्ण क्षमतामा सञ्चालन हुँदा नेपालले हाल आयात गरिरहेको फलाम तथा फलामजन्य सामग्रीको २५ प्रतिशतभन्दा बढी माग पूरा हुने अपेक्षा गरिएको छ ।