काठमाडौँ, माघ ७ गते । नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले कृषि जैविक विविधताको संरक्षण तथा प्रवद्र्धनका साथै रैथाने खानाको बजारीकरणमा सरोकारवाला निकायले ध्यान दिन आवश्यक भएको बताउनुभएको छ ।

ग्यास्टोनोमी टुरिजम एसोसिएसन अफ नेपालले आयोजना गरेको तेस्रो ‘राष्ट्रिय जैविक विविधता सप्ताह–२०८१’ को समापनका अवसरमा आज उहाँले सरकारले ल्याउन लागेको कृषि ऐनमा कृषिको जैविक विविधताको विषय समेटिने विश्वास व्यक्त गर्नुभयो ।

महामन्त्री थापाले कृषि मन्त्रालयले बनाउँदै गरेको नयाँ ऐनमा रैथाने बीउबिजन, उत्पादन र कृषि जैविक विविधताको संरक्षण कृषिको मूल आधारको रुपमा हेरिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “जलवायु परिवर्तन र वन संरक्षणको विषय निकै महत्वका साथ उठाइने गरिएको छ, तर कृषि जैविकताको विषय भने ओझेलमा परेको छ, अहिले कृषि ऐन बनिरहेको सन्दर्भमा यसलाई केन्द्रमा ल्याउने अवसर आएको छ, यसका सबैको सक्रियता चाहिन्छ ।”

महामन्त्री थापाले विदेशी पर्यटकलाई नेपालको रैथाने खानाको परिकारको स्वाद चखाउन सके नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले सबै जातजाति र समुदायको खाना, रहनसहन, पाककला र संस्कृति जोडेर पर्यटन प्रवद्र्धन गरिनुपर्ने बताउनुभयो ।

त्यसअवसरमा वरिष्ठ सेफ गोविन्दनरसिंह केसीले परम्परागत खानाको संरक्षण तथा प्रवद्र्धनमा नयाँ पुस्ताले ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले नेपाली खानालाई विश्व बजारमा प्रवद्र्धनका लागि विभिन्न मुलुकमा खाना प्रदर्शनी आयोजना गरिएको र यसले नेपाली खानाको प्रवद्र्धनमा मद्दत पुगेको उल्लेख गर्नुभयो ।

ग्यास्टोनोमी टुरिजम एसोसिएसनका सल्लाहकार श्रीराम अधिकारीले स्वस्थ्य जीवन र पर्यावरणका लागि रैथाने परिकारको उपयोगलाई व्यापक बढाइनुपर्ने बताउनुभयो ।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अधिवक्ता बलराम रिजालले कृषि जैविक विविधताको महत्व कृषि, स्वास्थ्य, पर्यटनलगायतसँग जोडिएकाले यसको प्रवद्र्धनका लागि सबै सरोकारवालाले ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो ।

नेपाल युवा परिषद्का संस्थापक अध्यक्ष सरोज बाँनियाले रैथाने बीउ र बालीको उत्पादन तथा प्रवद्र्धनका साथै जैविक विविधता संरक्षणमा युवापुस्ताले सक्रियता जनाउनुपर्ने बताउनुभयो । सेफ एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष श्याम लामाले रैथाने खाद्यान्नको माध्यमबाट खाना पर्यटन प्रवद्र्धन गरिनुपर्ने धारणा राख्नुभयो ।

बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ सल्लाहकार डा आलोक प्रसाईले कृषि जैविक विविधताको संरक्षण प्रवद्र्धनमा सरकार र निजी क्षेत्रको साझेदारीता फराकिलो बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।

ग्यास्टोनोमी टुरिजम एसोसिएसनका अध्यक्ष रमेश भण्डारीले नेपाली खानालाई अन्तर्राष्ट्रियरुपमा प्रवद्र्धन गर्ने उद्देश्यले विगत पाँच वर्षदेखि जैविक विविधता संरक्षण दिवस मनाइँदै आइएको बताउनुभयो । संस्थाले हिमाल, पहाड र तराईका रैथाने खानाको संरक्षण र प्रवद्र्धनका लागि विभिन्न प्रचारात्मक अभियान सञ्चालन गर्दै आएको उहाँको भनाइ छ ।