काठमाडौँ, माघ ६ गते । सङ्घीय संसद्अन्तर्गत तीनवटा समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार आज राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

जस अन्तर्गत राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक आज बिहान १०ः३० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपालको संविधानको धारा ५३ बमोजिम संघीय संसदमा प्रस्तुत भएको नेपाल सरकारको वार्षिक प्रतिवेदन (आव २०७९–०८०) का सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बिहान ११ः ३० बजे बस्दै छ । बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । सो बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ का सम्बन्धमा महान्यायाधिवक्तासँग छलफल गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ ।