फाइल तस्वीर
काठमाडौँ, माघ ६ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माघको दोस्रो साता केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक माघ ११ शुक्रबार र १२ गते शनिबार गरी दुई दिन काठमाडौँमा बस्ने तय भएको हो ।

बैठकमा पार्टीको साङ्गठनिक अवस्थाको समीक्षा, समसामयिक राजनीतिक परिस्थितिलगायत विषयमा छलफल गर्न बैठक डाकिएको नेता राजाराम श्रेष्ठले बताउनुभयो ।

नेता श्रेष्ठका अनुसार कार्यसमितिको बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान संशोधनका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा अन्य राजनीतिक दलहरुसँगको सहकार्यलगायत विषयमा छलफल हुने छ ।

बैठकमा पार्टीको भावी कार्यदिशा, रणनीतिलगायत विविध विषयमा छलफल हुने छ भने अध्यक्ष लिङ्देनले राजनीतिक प्रतिवेदनसमेत प्रस्तुत गर्नुहुने बताइएको छ । सचिवालयसम्बन्धी प्रतिवेदनका साथै सङ्गठन विभाग र प्रशिक्षण विभागका प्रतिवेदन, आर्थिक प्रतिवेदन र प्रदेश अध्यक्षहरूबाट प्रदेशका गतिविधि समेटिएका प्रतिवेदनसमेत बैठकमा प्रस्तुत गरिने भएको छ ।

यसैगरी बैठकमा पार्टीको वडा तहबाट सङ्गठन गठन र पुनर्गठन कार्यको समीक्षासहित पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारी र कामको समीक्षा हुने तोकिएको भूगोल केन्द्रित जिम्मेवारीमा नजाने नेताको जिम्मेवारी हेरफेर गरिने समेत नेता श्रेष्ठले बताउनुभयो ।