फाइल तस्वीर

काठमाडौँ, माघ ६ गते । काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि आफ्नो क्षेत्रको बागमती सफाईमा जुट्न थालेका छन् । महानगरपालिका–९ का वडाध्यक्ष रामजी भण्डारीको नेतृत्वमा शनिबार तिलगङ्गा निलो पुलमा जनप्रतिनिधि बागमती सफाईमा केन्द्रित भएका थिए ।

बागमती सफाई महाअभियानको ६१० औँ हप्तामा वडासदस्य टेकराज अधिकारी, रचना सुनाम, सृजना भेटवाल, कामनपा वडा नं ११ का अध्यक्ष हिरालाल तन्डुकारलगायत जनप्रतिनिधिको सक्रियतामा सफाई गरिएको थियो । स्थानीयवासी, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारी, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, कामनपा वातावरण विभाग टेकु, वाग्मती सफाइ महाअभियानका प्रमुख अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौड्यालसहित बागमती सफाई अभियानकर्मी पनि सफाईमा सक्रिय भएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो । त्यस क्षेत्रको बागमती किनारबाट तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको पनि उहाँले सुनाउनुभयो । कामनपा वातावरण विभाग टेकुको ट्रकमा उठाइएको सबै फोहर व्यवस्थापन गरिएको थियो ।

कामनपा वडा न ९ र ८ संयुक्त पहलमा आजदेखि महानगरीय प्रहरी बलका प्रहरी नायब उपरीक्षक शिव पौडेलको नेतृत्वमा २० जनाले तिलगङ्गा बागमती पुलबाट प्रयागघाटसम्म दायाँबायाँ किनारमा सरसफाई एव बिरुवा गोडमेल गर्ने गरी कार्यक्रम बनाइएको अभियानकर्मी शाहीले बताउनुभयो । गत शनिबार वडा नं ८ का अध्यक्ष आशामान सँगतको नेतृत्वमा पशुपति क्षेत्रस्थित नदी किनारमा सफाई गरिएको थियो । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बागमती सफाई महाअभियान प्रत्येक हप्ताको शनिबार नियमित रूपमा बागमती किनारमा हुने गरेको छ ।