दाङ, माघ ५ गते । घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले मगर समुदायको कला, संस्कृति र वेशभूषालाई व्यावसायिकीकरण गर्न आवश्यक रहेको बताउनुभएको छ । नेपाल मगर सङ्घ घोराही नगरको आयोजनामा आजदेखि घोराही–१४ झिगौँरामा सुरु भएको प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेलाको उद्घाटन कार्यक्रममा उहाँले कला, संस्कृति र वेशभूषालाई व्यावसायिक बनाउँदै यसको संरक्षण र प्रवर्द्धनमा सबै एकजुट भएर लाग्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि रहनुभएका नगरप्रमुख चौधरीले मगर समुदायको आफ्नै मौलिक कला, संस्कृति, भाषा, रहनसहन भएकाले यसलाई संरक्षण र संवर्द्धन गर्दै व्यावसायिक भएर आयआर्जनको माध्यम बनाउन आग्रह गर्नुभयो । मातृभाषामा पढाइ सञ्चालन गर्न मगर खाम भाषाको पाठ्यक्रम घोराही उपमहानगरमा तयार भइरहेको जनाउँदै उहाँले आगामी शैक्षिकसत्रदेखि उक्त मातृभाषामा पठनपाठन सुरु हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आफ्नै भाषामा अध्ययन गर्न बालबालिकालाई पनि सहज हुने धारणा राख्दै नगरप्रमुखले यसले शैक्षिक गुणस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले कुसुण्डा भाषालाई पनि संरक्षण गर्दै यसको प्रवर्द्धन गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

मगर समुदायले पहिलो पटक प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला सञ्चालन गरेको हुँदा यसले जिल्लाको पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने नगरप्रमुख चौधरीले बताउनुभयो । आफ्नो संस्कार, संस्कृति र भाषालाई जगेर्ना गर्दै विकास र समृद्धिसँग जोड्नतर्फ सबै एकताबद्ध भएर लाग्नुपर्ने उहाँको भनाइ छ ।  

आजदेखि सात दिनसम्म सञ्चालन हुने मेलाको आम्दानीबाट घोराही नगर मगर समितिले बहुउद्देश्यीय मगर सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य राखेको छ । मेलामा जातिगत वेशभूषाका स्टल तथा खानाका परिकार, बाल उद्यानलगायत स्टद राखिएका छन् । 

कार्यक्रम उद्घाटन पूर्व मगर समुदायको मौलिक वेशभूषा, बाजागाजासहित शोभायात्रा निकालिएको थियो । मेलाले मगर समुदायको रीतिरिवाज, परम्परालाई जगेर्ना गर्न र यहाँको पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने विश्वास यहाँका मगर समुदायका अगुवाहरूले लिएका छन् ।