काठमाडौँ, माघ ५ गते । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले नागरिकको सहयोग बिना सुरक्षित समाज निर्माण हुन नसक्ने बताउनुभएको छ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले आज यहाँ आयोजना गरेको सुरक्षासम्बन्धी अन्तरक्रियामा उहाँले सुरक्षित समाज निर्माणका लागि प्रहरी र नागरिकबीच हातेमालो आवश्यक रहेको बताउनुभयो ।

अतिरिक्त महानिरीक्षक तामाङले समाजमा शान्ति, सुरक्षा कायम गर्नुका साथै कुरीति र बिसङ्गति अन्त्य गर्न नागरिकको भूमिका पुलको रूपमा रहेको औँलयाउँदै प्रहरी र नागरिकबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिनुभयो । 

शान्तिपूर्ण र सुरक्षित समाजका लागि सामुदायिक–प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदाय र प्रहरी एकजुट भई अगाडि बढ्नुपर्ने उहाँले धारणा राख्नुभयो । “प्रहरीलाई सूचना दिने तथा गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्न नागरिकको सुझाव तथा सल्लाह आवश्यक छ”, उहाँले भन्नुभयो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले अपराध नियन्त्रण र अनुसन्धानकार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गर्नुभयो । उहाँले प्रहरी र नागरिकले एकआपसमा सहयोग, सहकार्य र समन्वयले मात्र समाजमा शान्ति सुरक्षा थप मजबुत हुने धारणा राख्नुभयो । 

सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले समुदाय र प्रहरीको सहकार्यले मात्र आपराधिक घटना न्यूनीकरण गर्न सकिने बताउनुभयो । अन्तरक्रियामा शान्ति सुरक्षा, सडक सुरक्षा, लागुऔषध दुव्यर्सनी न्यूनीकरणका विषयमा जिज्ञासा र गुनासो राखिएको थियो ।