गण्डकी, माघ ४ गते । कहिले कविता त कहिले गीतमार्फत, कहिले नदीका शिलालाई भगवान्का नाम दिएर त कहिले नदी किनारमा पैदलयात्रा गरेर, ‘कालीगण्डकी बचाऔँ अभियान’ले कालीगण्डकी नदी दोहनविरूद्धको आफ्नो सिर्जनात्मक प्रतिरोधलाई जारी राखेको छ । तीन वर्षअघि कालीगण्डकी संरक्षणका पक्षमा कविता शृङ्खला ‘नदी सप्तक’ सञ्चालन गरेको उक्त अभियानले गत जेठमा श्रीकृष्ण मोहिनी एकादशी तिथि पारेर कालीगण्डकी नदीका शिलामा भगवान्का नाम अङ्कित गरेको थियो ।
‘कालीगण्डकी बचाऔँ अभियान’ र ‘प्रकृति, पर्यावरण र शालिग्राम संरक्षण समिति’मा आबद्ध अभियानकर्मीहरूले कालीगण्डकी आसपासका प्रमुख धर्मघाटहरूमा शालिग्राम भगवानका नाम शिलाङ्कित गरेका थिए । मानवीय अतिक्रमणका कारण कालीगण्डकीमा मात्र पाइने विश्वकै दुर्लभ शालिग्राम शिला लोप हुने खतरा बढेपछि शिलाको नामाङ्कन गरिएको हो । शालिग्राम शिलालाई संसारभरका हिन्दूमार्गीले विष्णु भगवानका रूपमा पुज्ने गर्छन् । कालीगण्डकी नदीको पवित्रता एवं चक्राङ्कित र निष्चक्राङ्कित शालिग्राम शिला र नदी संरक्षणको सन्देश दिन उक्त अभियान सुरू गरिएको हो ।
ती शिलामा अहिले हरहर गङ्गे, मच्छेमूर्ति, महाकुर्ममूर्ति, बराहमूर्ति, लक्ष्मीनारायणलगायत शालिग्राम भगवानका ९० अवतारका नाम देख्न सकिन्छ । अस्तित्व सङ्कटबाट गुज्रिरहेको कालीगण्डकी नदी संरक्षणमा सरोकार भएका पक्षको ध्यानाकर्षण होस् र जनस्तरमा सन्देश पुगोस् भनेर अभियान थालिएको अभियानका संयोजक आरके अदीप्त गिरीले बताउनुभयो । कविताका माध्यमबाट राज्यसंयन्त्र र नदी दोहनकारीमाथि खबरदारी गरेको अभियानले संरक्षण चेतना जागृत गर्ने ध्येयले ‘एक कालीगण्डकी।।।’ बोलको गीत पनि सार्वजनिक गरिसकेको छ । प्रसिद्ध कवि श्रवण मुकारूङको रचना र सङ्गीतमा तयार भएको उक्त गीतमा लोकप्रिय गायक कर्ण दासको स्वर छ ।
यसपालि माघसङ्क्रान्ति पर्वका अवसरमा पनि अभियानको अगुवाईमा केही संरक्षणकर्मी र अभियानकर्मीहरू पर्वतको कालीगण्डकी किनारमा अवस्थित प्रसिद्ध मोदीवेणी धाममा पुगेर नदी संरक्षणको सन्देश दिए । पैदलयात्रासहित उनीहरूले ‘कालीगण्डकी बचाऔँ’ लेखिएको ब्यानर प्रदर्शन गरे । अव्यवस्थित विकास गतिविधि र प्रकृति दोहनका कारण सङ्कटमा परेको कालीगण्डकी नदी संरक्षणको सन्देश दिन उक्त कार्यक्रम गरिएको संयोजक गिरीको भनाइ छ । नदी उत्खननको काम नरोकिँदा कालीगण्डकी र यस क्षेत्रको पर्यावरण नै खतरामा परेको उहाँले बताउनुभयो ।
“नदीको प्राकृतिक स्रोत ढुङ्गा, गिटी, बालुवाको अधिक दोहनले कालीगण्डकी नदी क्षतविक्षत् बन्दै गएको छ,” संयोजक गिरीले भन्नुभयो, “अप्राकृतिक दोहनका कारण नदीको दिगोपनलाई दुई तिहाइले घटाइदिएको छ ।” कालीगण्डकी जस्तो जन्मदेखि मृत्युसंस्कारसम्मका सबै परम्पराको स्रोत र स्थलमा भएको दोहनको अभियानले विरोध गर्दै आएको छ । यो नदीलाई हिन्दू र बौद्धधर्मावलम्बीले पवित्र नदीका रूपमा लिने गर्छन् ।
कालीगण्डकीको जलाधार क्षेत्रमा आठ हजार मिटरभन्दा अग्ला तीन वटा हिमालय पर्वत शृङ्खला धवलागिरि, अन्नपूर्ण, र मनास्लु रहेका छन् भने ८ हजार देखि ६ हजार मिटर सम्मका दुई दर्जनभन्दा धेरै हिमशिखर रहेका छन् । कालीगण्डकीको जलाधार क्षेत्रमा मुस्ताङ, म्याग्दी, पर्वत, बाग्लुङ, स्याङ्जा, गुल्मी, पाल्पा, तनहुँ, पश्चिम नवलपरासी र पूर्वी नवलपरासी गरी १० जिल्ला रहेका छन् ।
प्राकृतिक, सांस्कृतिक तथा धार्मिक विशिष्टता बोकेको कालीगण्डकी नदी बचाउनु मानव सभ्यता बचाउनु सरह रहेको संयोजक गिरीले बताउनुभयो । हिमालको काखबाट बग्ने कालीगण्डकीलाई प्राकृतिक लयमा फर्काउन अभियानले विगतदेखि नै रचनात्मक दबाब बढाउँदै आएको छ । “नदी दोहनकाविरूद्ध हामीले रचनात्मक र सिर्जनात्मक ढङ्गले प्रतिरोध गर्दै आएका छौँ, हाम्रो आवाजलाई सम्बन्धित पक्षहरूले सुनून्”, संयोजक गिरीले भन्नुभयो, “कालीगण्डकी दोहनले नदीको सौन्दर्य र सभ्यतामात्र नासिने नभइ समग्र मानव–प्रकृति चक्रलाई नै खराब स्थितिमा पु¥याउँछ ।”
नदीमा हुने मानवीय हस्तक्षेपका कारण पानीको प्रदूषण, वनस्पति र जनावरको पारिस्थितिकीमा असन्तुलन र जैविक विविधतामा नोक्सानी पु¥याइरहेको उहाँले बताउनुभयो । कालीगण्डकी नदी मानव जीवनको स्रोत नदी भएकाले यसको संरक्षणका लागि सबैले आआफ्नो ठाउँबाट आवाज उठाउनुपर्ने संयोजक गिरीको भनाइ छ । धार्मिक, सांस्कृतिक गरिमा, जैविक र प्राकृतिक विविधतासँगै मानिसको जीविकासँग पनि जोडिएको कालीगण्डकी नदीलाई आफ्नै प्राकृतिक स्वरूपमा बग्न दिनुपर्ने अभियानकर्मीहरूको माग छ । विश्वमै दुर्लभ शालिग्राम पाइने एकमात्र नदी भएकाले कालीगण्डकी धर्मप्रेमीका लागि पनि पवित्रस्थल मानिन्छ ।
जभाभावी दोहनकै कारण कालीगण्डकीमा मात्रै पाइने उक्त शालिग्राम शिला लोपोन्मुख अवस्थामा पुगेको छ । यो नदी हिमालय क्षेत्रको दामोदरकुण्ड, मुस्ताङको मुक्तिक्षेत्र हुँदै दक्षिणतर्फ बग्छ । राज्यको उचित र कठोर नीति नहुँदाको फाइदा उठाउँदै गिट्टी, बालुवा उत्खननका नाममा मनपरी ढङ्गले नदी दोहन भइरहेको छ ।
मुक्तिनाथबाट देवघाटसम्म कालीगण्डकी तटमा रहेका दर्जनौँ तीर्थस्थलसमेत सङ्कटोन्मुख अवस्थामा छन् । उक्त अभियानले मध्यनेपालको प्रमुख नदी–प्रणाली कालीगण्डकीमा आधारित कतिपय विकास परियोजनाले सभ्यता बोकेको उक्त नदीको अस्तित्व सङ्कटमा पर्ने भन्दै चिन्तासमेत व्यक्त गर्दै आएको छ । यसै त अप्राकृतिक दोहनको चपेटमा परेको कालीगण्डकी नदीमा ठूला पूर्वाधार आयोजना निर्माण गर्दा नदी–प्रणाली र त्यसमा आश्रित समुदायमा गम्भीर सङ्कट निम्तने उसको ठहर छ ।
नदी र खोलाका किनारैकिनार खनिएका सडक, अव्यवस्थित सहरीकरण र विकास गतिविधि, प्रकृतिदोहन आदि कारणले मानव र प्राणी जगत् जोखिममा पर्दै गएकामा पर्यावरणकर्मी चिन्तित छन् । पर्वत, बागलुङ र म्याग्दी आसपासमा पर्ने आनन्द बगर, फोर्से, सती बगर, राजा बगर, सहश्रधारालगायत क्षेत्रमा सञ्चालित दर्जनौँ क्रसर उद्योगले मनोमानी ढङ्गले कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन गर्दै आएका छन् । अव्यवस्थित उत्खननका कारण नदी कुरूप बन्दै गएको मात्र छैन, ठाउँठाउँमा नदीको धार नै परिवर्तन भइरहेको छ ।
रातारात कालीगण्डकीबाट ढुङ्गा, बालुवा र गिट्टी उत्खनन तथा ओसारपसार हुने गरेको स्थानीयवासीको गुनासो छ । कालीगण्डकीले झेलिरहेको समस्याप्रति जनप्रतिनिधि र स्थानीय प्रशासनले अनदेखा गरिरहँदा दोहनकर्ताले संरक्षण पाइरहेका छन् । नदीजन्य सामग्री उपयोगका नाममा जथाभावी उत्खनन गर्दा नदी गहिरिने, धार परिवर्तन हुने र त्यसले तटीय क्षेत्रमा बाढी र कटानको जोखिम बढाएको छ ।
बालुवा, गिट्टी र ढुङ्गालगायत निर्माण सामग्री नदी किनारमै सङ्कलन गर्ने र त्यहीँबाट उठाउने गरिएको छ । नदी ऐन÷नियम, वातावरणीय प्रभाव मूल्याङ्कनको समेत बेवास्ता गर्दै मनपरी ढङ्गले कालीगण्डकी दोहन गर्दा मानव बस्तीसँगै अन्य प्राकृतिक स्रोत÷पानीका मूल–मुहान, जलथल आदि सङ्कटमा परेका जानकारहरू बताउँछन् । कालीगण्डकीको अनियन्त्रित दोहन नरोकिने हो भने नदीको अस्तित्व नै नामेट हुने खतरा रहेको अधिवक्ता राम शर्माले बताउनुभयो ।
उहाँले नदीजन्य पदार्थ उत्खननका लागि प्राविधिक अध्ययन गरी जोखिम नभएका ठाउँ पहिचान गर्ने, तोकिएको मात्रामा उत्खनन गर्ने, व्यवसायीलाई अनिवार्य करको दायरामा ल्याउने आदि गरेमा उत्खनन केही व्यवस्थित हुनसक्ने धारणा राख्नुभयो । “नदी क्षेत्रबाट गिट्टी, बालुवा झिक्नै नपाउने कुरा व्यवहारिक नहुन सक्छ तर उत्खननलाई व्यवस्थित बनाउनुपर्यो, राज्यले कानुनी प्रबन्धहरू त्यहीअनुसार गर्नुपर्यो”, अधिवक्ता शर्माले भन्नुभयो ।
संयोजक गिरीले ठूला यन्त्र, उपकरणको सहायतामा भइरहेको दोहनका कारण बर्सेनि कालीगण्डकी नदी बिरूप र अनियन्त्रित बन्दै गएको बताउनुभयो । नदीको धार परिर्वतन हुँदा बाढीलगायतका विपद् निम्तिने र त्यसले नदी किनारमा बसोबास गर्ने लाखौँ मानिसको थातथलो र जीविका सङ्कटमा पर्ने उहाँको भनाइ छ ।
हिमालय क्षेत्रको दामोदरकुण्ड, मुस्ताङको मुक्तिक्षेत्र हुँदै दक्षिण बग्ने कालीगण्डकीसँग आफ्नै प्राचीन सभ्यता छ । यससँग जोडिएको हिमालय सभ्यताको पौराणिक तथा धार्मिक साहित्यमा चर्चा गरिएको पाइन्छ । यस क्षेत्रका फाँटहरूमा प्राचीनकालदेखि नै सांस्कृतिक गतिविधि हुने गरेको विभिन्न धर्मग्रन्थहरूमा उल्लेख छ । चिनियाँहरूले रेशम व्यापारका क्रममा हिमालय भञ्ज्याङ पार गरी कालीगण्डकीको किनारैकिनार पोखरा, पाल्पा, तानसेन, लुम्बिनी हुँदै भारतसम्मको यात्रा गरेको इतिहासमा उल्लेख छ ।