काठमाडौँ, माघ ४ गते । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा आजदेखि अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँ, बिन्दु स्पेश फर आर्टिष्ट र काठमाडौँ ट्रिएनालेको संयुक्त आयोजनामा नेपालसहित अमेरिका, आयरल्याण्ड, डेनमार्कका कलाकारको सहभागितामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको हो ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उक्त प्रदर्शनी उद्घाटन गर्दै कला विश्वभाषा भएको र यसलाई बुझ्न बुझाउन यस्ता प्रदर्शनी महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले प्रदर्शनीलाई संस्कृति, ज्ञान, सीप आदानप्रदानसँग जोड्दै कलाकारहरूले विश्व मानवहितका लागि काम गर्नुपर्ने धारणा राख्नुभयो ।
समारोहमा प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धरले प्रदर्शनीमा सहभागी हुन पाएकामा खुसी व्यक्त गर्नुभयो ।
आयरल्याण्डका कलाकार लोरा मर्फीले यस प्रदर्शनीका लागि नेपाल ललितकला प्रतिष्ठानप्रति आभार व्यक्त गर्नुभयो । उहाँले यस्ता प्रदर्शनीले कलाकारहरूलाई फरक देशको कला, भाषा, संस्कृति बुझ्नलाई थप सहयोग पुर्याउने बताउनुभयो । प्रदर्शनीमा नेपाली कलाकारका ६५, अमेरिकाका २२, डेनमार्कका दुई, आयरल्याण्डका दुई गरी २६ कलाकारका ८२ कलाकृति राखिएका छन् ।
प्रदर्शनीमा प्रतिष्ठानका कुलपति हार्तम्छाली, पूर्वकुलपति केके कर्माचार्य, पूर्वकुलपति किरण मानन्धर, हालका उपकुलपति लालकाजी लामा, सदस्यसचिव देवेन्द्रकुमार काफ्लेलगायत कलाकृति पनि समावेश छ ।
प्रदर्शनी यही माघ ६ गतेसम्म चल्ने प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले जानकारी दिनुभयो । पोखरामा बनाइएका कलाकृतिसमेत प्रदर्शनीमा राखिएका छन् ।