काठमाडौँ, माघ ४ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गरिब तथा विपन्न वर्गलाई ऊर्जाको विकासमार्फत समृद्धिको यात्रामा जोड्ने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) नेपालको २५औँ रजतजयन्ती उद्घाटन सत्रमा आज उहाँले जलविद्युत् केन्द्रको शेयर बिनाधितो प्रभावित क्षेत्रका गरिब तथा विपन्न वर्गलाई दिने प्रबन्ध मिलाउन लागिएको बताउनुभयो ।

“अहिले हुनेखाने वर्गले मात्र जलविद्युत् केन्द्रमा शेयर हालिरहेको अवस्था छ, सरकारले प्रभावित क्षेत्रका विपन्न वर्गलाई लक्षित गरी बिनाधितो शेयरको व्यवस्था गर्न लागेको छ”, मन्त्री खड्काले भन्नुभयो । उत्पादित विद्युत्को बजार सुनिश्चित रहेकाले ऊर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई उहाँले आग्रह गर्नुभयो । मन्त्री खड्काले पहिले जलविद्युत् क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा धेरै समय लाग्ने गरे पनि हाल अधिकांश जलविद्युत् केन्द्रमा मोटरबाटोको पहुँच पुगेकाले काम गर्न थप सहज भएको बताउनुभयो ।

उहाँले हालैको मन्त्रिपरिषद् बैठकले ऊर्जा विकास मार्गचित्र २०८१ पारित गरिसकेकाले उक्त मार्गचित्र कार्यान्वयनका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्नुभयो । “सरकारले निजी क्षेत्रका समस्या राम्रोसँग बुझेको छ । ऊर्जा उत्पादनका क्रममा देखिएका नीतिगत समस्या समाधान गर्दै सरकार अगाडि बढ्छ । यसअघि ऊर्जा उत्पादनको जिम्मामात्र निजी क्षेत्रलाई दिए पनि हाल प्रसारण लाइनसमेत निजी क्षेत्रले बनाउन पाउने व्यवस्था गरिएको छ । यसको लाभ लिन निजी क्षेत्रलाई आग्रह गर्दछु”, उहाँले भन्नुभयो ।

इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि ऊर्जा विकास मार्गचित्र ऐतिहासिक हुने धारणा राख्नुभयो । ऊर्जा क्षेत्रको विकासमा देखिने समस्यालाई सरकारले समाधान गरेमा सरकारले राखेको लक्ष्य पूरा गर्न कुनै कठिनाइ नहुने उहाँको भनाइ थियो ।