काठमाडौँ, माघ ३ गते । न्यायपरिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । आज बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको संसदीय सुनुवाई प्रारम्भ गरेको हो ।
समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध उजुरी आह्वान समेत गरेको छ । खड्कालाई न्याय परिषद् सदस्य बनाउन उपयुक्त छैन भन्ने लागेको खण्डमा १० दिनभित्र उजुरी दिन सकिनेछ । उजुरी कर्ताले चाहेमा उनीहरूको नाम, थर र वतन गोप्य रहनेछ ।

समितिको बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले न्याय परिषद्को सदस्य पदमा नियुक्तिका लागि प्रस्तावित दामोदर खड्काको नाम प्रस्ताव गरी संसदीय सुनुवाई हुन न्याय परिषद्बाट समिति समक्ष पुस २९ गते आएको बताउनुभयो । संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १२ बमोजिम प्रस्तावित व्यक्तिका सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिने र निजको सम्बन्धमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना वा उजुरी समिति समक्ष दिने प्रयोजनका लागि सो सम्बन्धी सूचना सरकारी सञ्चार माध्यममार्फत सार्वजनिक गर्न समिति सचिवलाई निर्देशन गर्नुभयो ।