काठमाडौँ, माघ ३ गते । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूसँग कार्यप्रगति विवरणबारे जानकारी लिनुभएको छ । आज बिहीवार बिहान सभापति देउवाले निजी निवास बुढानिलकण्ठमा संसदीय दल कार्यसमितिको बैठकमा पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको कार्य प्रगति विवरणबारे जानकारी लिनुभएको हो ।

देउवाको निजी निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा सहभागी भएर बाहिरिने क्रममा खेलकुदमन्त्री तेजुलाल चौधरीले कार्यसम्पादनबारे ‘ब्रिफिङ’ गरेको जानकारी दिनुभयो ।
खेलकुदमन्त्री चौधरीले मन्त्रालयले ‘सभापतिज्यूले काङ्ग्रेसले सम्हालेका मन्त्रालयबारे विस्तृत जानकारी लिनुभएको छ । मन्त्रीहरूले के–के काम गरे भनेर सभापतिलाई जानकारी दिनुभएको छ । अब ‘के–के काम गर्ने, कसरी प्रभावकारी काम गर्ने, कसरी अगाडि बढ्ने विषयमा छलफल भएको छ र मन्त्रीहरुले कामको ब्रिफिङ गरेको’ जानकारी गराउनुभयो ।

मन्त्री चौधरीले बैठकमा सरकारले ल्याएका अध्यादेशबारे समान्य छलफल भएको पनि बताउनुभयो । ‘अध्यादेशबारे महामन्त्रीले बैठकमा जानकारी गराउनुभयो । यस विषयमा पहिले पनि छलफल भएकोले त्यसबारेमा त्यति चर्चा र परिचर्चा गर्ने कुरा भएन ।’ बैठकमा अध्यादेशको बारेमा सकारात्मक छलफल भएको बताउनुभयो ।