काठमाडौँ, माघ ३ गते । सङ्घीय संसद् अन्तर्गत आज विभिन्न चारवटा समितिको बैठक बस्दै छ । आज अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
जसअनुसार अर्थ समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ । सो बैठकमा अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः३० बजे सुरु हुनेछ । बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) को समीक्षा र नेपालको आगामी कार्यदिशाका बारेमा छलफल गर्ने कार्यसूची छ ।
यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बिहान ११ः३० बजे नै सुरु हुनेछ । सो बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल गर्ने तयारी छ ।
यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज दिउँसो १ बजे सुरु हुनेछ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।