काठमाडौँ, माघ २ गते । काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतको हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले रास्वपा सभापति लामिछानेलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

सो आदेश लगत्तै रास्वपा कार्यवाहक सभापति डीपी अर्याल र सभापति लामिछानेकी श्रीमती निकिता पौडेल धरौटीको प्रक्रिया अघि बढाउँदै हुनुहुन्छ । अदालतभित्र धरौटीको प्रक्रिया चलिरहँदा बाहिर रविका समर्थकहरू बाक्लो संख्यामा उपस्थित छन् भने सुरक्षा व्यवस्था कडा पारिएको छ ।

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ पर्नुभएका लामिछाने ८४ दिनपछि गत बिहीबार साँझ ६५ लाख धरौटी बुझाएर रिहा हुनुभएको थियो ।

गत बिहीबार कास्की जिल्ला अदालतको आदेश लगत्तै ६५ लाख धरौटी रकम बुझाएर रिहा हुनुभएकां रास्वपा सभापति लामिछाने एक सातामै काठमाडौँ जिल्ला अदालतमा पनि ६० लाख धरौटी बुझाएर आजै रिहा हुँदै हुनुहुन्छ ।