फाइल तस्वीर
काठमाडौँ, माघ २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । सरकारले गत पुष २६ गते ल्याएको पाँच वटा अध्यादेश जारी गरेकोले सोको विषयवस्तु सार्वजनिक गर्न आज बुधबार अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सगरमाथा हलमा पत्रकार सम्मेलनको आयोजना गर्नुभएको हो ।
जारी भएका अध्यादेशका विषयवस्तु सार्वजनिक गर्न प्रधानमन्त्रीले पत्रकार सम्मेलनको आयोजना गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार ‘सुशासन प्रर्वद्वन र लगानी अभिवृद्धि सम्बन्धी अध्यादेश’का विषयवस्तु सार्वजनिक गर्न लागिएको हो ।
सरकारले पुस २६ गते विभिन्न ५ अध्यादेश ल्याएको थियो । जसमध्य राष्ट्रपति कार्यालयले सोमबार सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन) अध्यादेश, निजीकरण (पहिलो संसोधन) अध्यादेश, र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेको थियो भने भूमिसम्बन्धी अध्यादेश अध्ययन गर्नुपर्ने भन्दै राष्ट्रपति कार्यालयले रोकेको छ ।
सरकारले हिउँदे अधिवेशन नबोलाई हतारमा पाँच वटा अध्यादेश ल्याएको भन्दै सर्वत्र विरोध र आलोचना भइरहेको बेला प्रधानमन्त्रीले आक्रोशलाई मन्थर गर्ने अभिप्रायले अध्यादेशका विषयवस्तु सार्वजनिक गर्ने अवस्थामा पुग्नुभएको बताइन्छ ।
अध्यादेश जारीभएसँगै सरकारले हिउँदे अधिवेशन बोलाउने गृहकार्यमा जुटेको छ । प्रधानमन्त्रीको मिचाहा र हेपाहा प्रवृत्तिले देशमा सङ्कट उत्पन्न भएको विश्लेषण हुन थालेको छ । सरकारले अधिवेशन आह्वान नगर्नु, एकैसाथ पाँच वटा अध्यादेश ल्याउनुलाई अर्थपर्ण रुपमा हेर्न थालिएको छ । प्रधानमन्त्रीका यस्ता गतिविधिले कतै देशलाई फेरी पनि मध्यावधितिर धकेल्न खोज्नुभएको छ होइन भन्ने आशंका पैदा भएको छ ।