प्रतिपक्षी दलहरुको बैठक ।
काठमाडौँ, माघ २ गते । विपक्षीदलहरुको बैठकले सरकार स्वेच्छाचारी भएको ठहर गरेको छ । आज बुधबार सिंहदरबारस्थित नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरुको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
विपक्षी दलहरुको बैठकमा सरकारले हिउँदे अधिवेशन नबोलाई संसद् छलेर विभिन्न अध्यादेशहरु ल्याएर बहुमतको दम्भ देखाउँदै स्वेच्छाचारी आचरण देखाएको भन्दै सरकारको रबैयाको विरोध गरेको छ ।
साथै बैठकले सरकारले लामो समय वितिसक्दा पनि संसद्को हिउँदे अधिवेशने तर्फ कुनै चासो नदिएको भन्दै तत्काल अधिवेशन बोलाउन माग गर्ने निर्णय गरेको छ । सरकारले अधिवेशन नबोलाए अब विपक्ष दलहरु चुपलागेन नबस्ने भन्दै विशेष अधिवेशन बोलाउन पहल गर्नेसमेत विपक्षी दलको आजको बैठकले निर्णय गरेको छ ।
बैठकको निर्णयबारे जानकारी दिँदै माओवादीको उपमहासचिव वर्षमान पुनले सरकार संसद् छलेर अलोकतान्त्रिक तरिकाले अध्यादेशबाट शासन गर्न लागेको आरोप लगाउनुभएको छ । माकेका नेता पुनले संसद्को नियमित अधिवेशन बोलाउन सरकारलाई दबाब दिने र सरकारले नियमित अधिवेशन नबोलाएमा विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय भएको सञ्चारकर्मीहरुलाई जानकारी गराउनुभयो ।
‘सरकारले सदन छलेर अध्यादेशबाट शासन गर्ने अलोकतान्त्रिक गरिरहेको छ । प्रधानमन्त्री केपी ओलीमा स्वेच्छाचारी ढङ्गले शासन गर्ने विगतको प्रवृत्तिमा कुनै परिवर्तन नआएर र त्यही प्रवृत्ति दोहोरिएको छ’ नेता पुनले भन्नुभयो ।
‘देशमा महँगी बढेको छ । अनियमितता व्याप्त छ । यस्तो अवस्थामा नियमित अधिवेशन बोलाउन विपक्षी दलले माग गरेको छ । नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन बोलाउन पहल गर्नेर्छौं’ नेता पुनको भनाई थियो ।
आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सरकारले गरेको व्यवहार प्रतिशोधात्मक भएको टिप्पणीसमेत गरेको छ । राज्यले लामिछानेमाथि प्रतिशोध र दमनकारी नीति अवलम्बन गरेको निष्कर्ष निकालेको छ । बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था, संसदमा विपक्षी दलहरूको भूमिका विषयमा नेताहरुले आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । बैठकले केही दिनभित्रै प्रतिपक्षी दलहरूको साझा धारणा बनाउन ड्राफ्ट कमिटीसमेत बनाएको छ ।
प्रतिपक्षी दलहरुको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम् प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेसपाका नेता महिन्द्र राय यादव, राप्रपाका नेता बुद्धिमान तामाङलगायत नेताहरूको उपस्थिति रहेको थियो ।