काठमाडौँ, माघ २ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले आह्वान गरेको विपक्ष दलहरुको बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बसेको हो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी), राप्रपा लगायत दलका नेताहरुको सहभागिता रहेको छ । बैठकमा सरकारको कार्यशैली, संसदको हिउँदे अधिवेशनलगायतका विषयमा केन्द्रीत हुने बताइएको छ ।

प्रतिपक्षी दलहरुको बैठक सकिए पछि आजै दिउँसो २ बजे समाजवादी मोर्चाको समेत बैठक बस्दै छ । मोर्चाको बैठकभने काठमाडौँको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बस्ने भएको हो । आजको बैठकमा देशको समसामयिक राजनीतिक घटनाक्रम र मोर्चाको आगामी कार्यक्रम र रणनीतिबारे छलफल हुने बताइएको छ ।

यसैबीच नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पनि आजै अपरान्ह ४ बजेका लागि तय भएको छ । पदाधिकारी बैठक ललितपुरको खुमलटारस्थित पार्टी अध्यक्ष प’ष्पकमल दाहाल प्रचण्डको निजी निवासमा बस्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।