फाइल तस्वीर
काठमाडौँ, माघ २ गते ।
देशको बदलिंदो राजनीतिक घटनाक्रम र सरकारको पछिल्ला कार्यशैलीलाई लिएर संसदको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले विपक्षी दलहरूको संयुक्त बैठक आह्वान गरेको छ । बैठक आज बुधबार दिउँसो सिंहदरबारस्थित सो पार्टीको संसदीय दलको कार्यालयमा बस्नेगरी आह्वान गरिएको हो ।

एमाले–काङ्ग्रेसको गठबन्धनको सरकारले संसद्को हिउँदे अधिवेशन बोलाउन विलम्ब गर्नुको साथै विभिन्न पाँचवटा अध्यादेशहरु राष्ट्रपतिमार्फत ल्याउन खोजेको विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ । बैठकमा प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारविरुद्धको रणनीतिबारे प्रतिपक्षी दलहरुको बैठकमा छलफल हुनेछ । प्रमुख प्रतिपक्षी दल माकेले बैठकमा संसदमा प्रतिनिधित्व गरेका सबै विपक्षी दलहरूलाई बोलाएको छ ।