अछाम, माघ १ गते । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ आज यहाँ दशौँ राष्ट्रिय योग दिवस मनाइएको छ । प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालको अध्यक्षतामा उक्त दिवस मनाइएको हो ।
योग दिवसमा पतञ्जलि योग समिति अछामका योग प्रशिक्षक जयबहादुर बोगटी, अछाम जिल्ला महिला योग प्रभारी गीता हमाल, महामन्त्री विशेश्वरप्रसाद ढुङ्गानाले योगका बारेमा जानकारी दिनाका साथै योग प्रशिक्षण दिनुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी लम्सालले योग दिवस मनाउन थालेपछि नेपालमा योग र आयुर्वेदको क्षेत्र विकसित हुने बताउनुभयो । शारीरिक र मानसिक रुपले स्वस्थ रहन योग महत्वपूर्ण माध्यम भएको उहाँले उल्लेख गर्नुभयो ।
योग दिवसमा उपस्थित सबैलाई जङ्गली तरुल, तिलको लड्डु र चाकु खुवाएर शुभकामना आदानप्रदान गरिएको जिल्ला आयुर्वेद केन्द्रका प्रमुख दीपकराज पन्तले जानकारी दिनुभयो ।